शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीलाई नछाड्ने एमालेको निर्णय

दैनिक नेपाल २०७४ माघ ८ गते १८:१०

काठमाडौँ, ८ माघ । नेकपा एमालेले प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादी केन्द्रलाई नछाड्ने निर्णय गरेको छ ।

एमाले प्रदेश सभा ६ को संसदीय दलको सोमबार सुर्खेतमा बसेको पहिलो बैठकले एमालेले नै मुख्यमन्त्री लिनुपर्ने निर्णय गरेको हो । बैठकले प्रदेश नम्बर ६ को मुख्यमन्त्री एमालेकै हुनुपर्ने निर्णय गरेको एमाले नेता एवं प्रदेश सांसद प्रकाश ज्वालाले दैनिक नेपाललाई जानकारी दिए ।

‘आज सुर्खेतमा प्रदेश संसदीय दलको पहिलो बैठक बस्यो, एमालेबाटै मुख्यमन्त्री बन्नुपर्ने निर्णय गर्दै केन्द्रको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’- बैठकको निर्णयबारे ज्वालाले दैनिक नेपालसँग टेलिफोनमा भने । बैठकको नेतृत्व एमालेका पोलिटव्युरो सदस्य एवं प्रदेश सहइन्चार्ज यामलाल कँडेलले गरेका थिए ।

एमाले एक्लैले ५० प्रतिशत जितेका कारण मुख्यमन्त्री माओवादी केन्द्रलाई छाड्न नहुने धारणा बैठकमा आएको थियो । प्रदेश नम्बर ६ को ४० सदस्यीय प्रदेश सभामा एमालेको २० सांसद छन्। जसका कारण पनि प्रदेश ६ मा एमालेबिना सरकार बनाउन अन्य दललाई असम्भव छ।

यद्यपि नेकपा एमाले र माओवादी केन्द्रबाट गठित कार्यदलले भने मुख्यमन्त्रीको विषय केही टुंगो लगाएको छैन् । पार्टी संयोजन समितिको बैठकमा पनि मुख्यमन्त्रीको विषयले प्रवेश पाएको छैन् ।

माओवादीले भने प्रदेश नं ६ को मुख्यमन्त्री दाबी गरिरहेको छ। माओवादीबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी दाबेदार देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित