२ कार्तिक २०८३, सोमबार

कता गायब भए दीपक मनाङे ? देउवाले दिए यस्तो आदेश

51k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । सर्वोच्च अदालतबाट पाँच बर्षको कैद सजाय पाएका मनाङका प्रदेश सभा सांसद दीपक मनाङेलाई प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।

सर्वोच्चले पाँच बर्ष कैद सजायको फैसला गरेपछि मनाङे भूमिगत भएका थिए । फैसलाको दिनसम्म काठमाडौँमै रहेको सूचना पाएको प्रहरीले अहिले एकाएक भूमिगत भएपछि खोजी कार्यलाई तीव्र दिएको छ । खासगरि, काठमाडौँ वरपरकै जिल्ला वा गृह जिल्ला मनाङमा लुकेको आशंकामा प्रहरीले पक्राउका लागि टोली नै परिचालन गरेको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै गरेको पत्र आएकाले खोजी कार्यका लागि टिम परिचालन गरिए पनि अहिलेसम्म भेटाउन नसकिएको काठमाडौंका प्रहरी प्रमुख रवीन्द्र धानुकले बताउँदै आएका छन् ।

सर्वोच्चको फैसला लगत्तै दैनिक नेपालसँग कुरा गर्दै मनाङेले अदालतको फैसलाबाट आफू आश्चर्यमा परेको बताएका थिए । आफूलाई पुनरावेदनसमेत गर्न नदिए दोषी करार गरिएको उनको भनाइ थियो ।

२०६१ सालमा काठमाडौँकै गुण्डा नाइके चक्रे मिलनलाई तरबार हानेर मार्न खोजेको अभियोगमा २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । सोही फैसलालाई सर्वोच्चले माघ २ गते सदर गरेको हो ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पदमा रहँदै मनाङेलाई पक्राउ गर्न भनी आदेश दिएका छन् । देउवाको आदेश अनुसार प्रहरीले तीन वटा टोली बनाएर खोजी कार्यलाई तीव्र पारेको छ ।

मनाङेले स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका थिए । तर, सर्वोच्चको फैसलापछि अब उनको पद खारेज हुने भएको छ ।