काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक योजना, पूर्वाधार तथा यातायातमन्त्री वीरवबहादुर बलायरले प्रदेशको केन्द्र
तोकिएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि जनाएका छन् ।
सरकारले बुधबार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेको थियो । प्रधानमन्त्री देउवाले आफ्नो कुरा नसुनेकाले बलायर बिहीबारको कांग्रेस बैठकमा असन्तुष्टि पोखेका हुन् ।
मन्त्री बलायरले प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने माँग गर्दै आएका थिए । देउवाले उनको कुरा सुनेनन् । उनले ७ नम्बर प्रदेशको राजधानी धनगढी बनाए । यो निर्णयसँगै मन्त्री बलायर तत्काल राजीनामा दिने मुडमा पुगेको स्रोतको दाबी छ ।
प्रदेशको अस्थायी मुकाम तोक्नको लागि निर्णय लिन बसेको मन्त्रिपरिषदको बैठकै प्रधानमन्त्री देउवा र मन्त्री बलायरवीच भनाभन नै परेको थियो । अहिले डोटीमा आन्दोलन भैरहेकोले आफूलाई अप्ठ्यारो पर्ने अवस्था भएकोले यसबारेमा सोच्न उनले पटक–पटक आग्रह गरेका थिए ।
बलायरको शब्द भुँईमा खस्न नपाउँदै देउवाले कडा रुपमा प्रतिवाद गरे । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्री हुँदा त चुनाव जित्नुभएन, अब के गर्न सक्नुहुन्छ र ? तपाईलाई यत्रो ठूलो चिन्ता ?’
३ नम्बरको राजधानी काभ्रे हुनुपर्छ भनेर सुरुदेखि लविङ् गरेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेत पनि देउवासँग रुष्ट छन् । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी पनि देउवासँग रुष्ट छन् ।
५ नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ भनेर आवाज उठाउँदै आएका मन्त्री चौधरीलाई देउवाले अन्तिममा आएर हावा खुवाईदिए । उक्त प्रदेशको राजधानी बुटवल भएको छ । अहिले पनि दाङमा आन्दोलन जारी छ ।















प्रतिक्रिया