२ कार्तिक २०८३, सोमबार

तीन घण्टा काम छाडेर नर्सहरुले विरोध जनाए

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमबार तीन घण्टा काम छाडेर विरोध जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेबाट देशव्यापीरुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको छ ।

माग पूरा नभएको भन्दै नर्सले आजदेखि ३ गतेसम्म दिनको तीन घण्टा काम छाडेर विरोध जनाउने बताएका छन् । संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले माग पूरा नभए माघ ४ गतेदेखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमै काममा नजाने बताइन् ।

उनले भनिन्, ‘अझै माग पूरा नभए माघ ७ गतेदेखि २४ सै घन्टा नै काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौँ ।’ आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघसंस्थाको समर्थन रहेको संघकी कार्यवाहक अध्यक्ष थापाको भनाइ छ ।

गत पुस २६ र २७ गते कालोपट्टी बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए । जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरुपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा भएको नर्समाथि हुने श्रमशोषण बन्द गर्नुपर्ने, सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कुल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने माग संघले अघि सारेको छ ।

श्रम ऐन २०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग पनि संघले अगाडि सारेको छ । –रासस