
काठमाडौँ, १ माघ । बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले युरोपियन फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । स्पानिस ला लिगामा सोमबार विहान रियल सोसिडाडलाई ४–२ ले हराउने क्रममा एक गोल गरेका मेसीले पहिलो श्रेणीको युरोपियन लिगमा बढी गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
सोसिडाड विरुद्ध फ्रिकिकमा शानदार गोल गरेका मेसीले बार्सिलोनाका लागि लिगमा ३६६ गोल गरेका छन् । ला लिगामा बढी गोल गर्ने खेलाडी मेसी अब युरोपियन लिगमै बढी गोल गर्ने खेलाडी हुन पुगेका छन् ।
यसअघि जर्मनीका गर्ड मुलरले सन् १९६४ देखि १९७९ सम्म बुन्डेस लिगाका खेल खेल्दै ३ सय ६५ गोल गरेका थिए । मेसीले आफ्नो ४ सयौँ लिग खेलमा मुलरको कीर्तिमा बराबरी गरेका थिए । उनले ४ सय २७ बुन्डेस लिगाका खेल खेलेका थिए । मेसीले भने ४ सय १ ला लिगा खेल खेल्दै ३ सय ६६ गोल गरेका हुन् । मेसीले सिजनमा १६ गोल गरिसकेका छन् ।
मेसीले रेकर्ड गोल गरेको खेलमा बार्सिलोनाले २-० गोलले पछि परेको नजिता उल्टाउदै ४–२ गोल अन्तरले जित हात पारेको थियो ।















प्रतिक्रिया