लण्डन, १ माघ । लिग लिडर बार्सिलोनाले दुई गोलले पछिपरेको स्थिती उल्टाउँदै ला लिगामा रियल सोसिडाडलाई ४–२ ले पराजित गरेको छ ।
बार्सिलोनाको कमब्याक जितमा लुइस सुवारेजले २ तथा पाउलिन्हो र मेसीले १–१ गोल गरे ।
विलियन जोसले ११औँ तथा जुअनमीले ३४औँ मिनेटमा गोल गरेपछि सोसिडाडले घरेलु मैदानमा बार्सिलोना विरुद्ध सुरुमै २-० अग्रता बनाएको थियो ।
तर दुई गोल खाएर पनि बार्सिलोना खेलमा फर्कियो। ३९औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले हाफमा गोल अन्तर कम पार्यो ।
पहिलो हाफमा एक गोलले पछि परेपनि बार्सिलोनाले दोस्रो हाफमा ३ गोल फर्काए । बार्साको जितमा नायक बनेका लुइस सुवारेजले ५०औँ मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पूर्याए ।
७१औँ मिनेटमा सुवारेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता बनायो । यतीमै बार्सा रोकिएन । ८५औँ मिनेटमा लियोनल मेसीले फ्रिकिकमार्फत गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।
जितपछि लिगामा अपराजित रहेको बार्सिलोना १९ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा आसिन छ । बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको माथि ९ अंकको अग्रता समेत बनाएको छ । – एजेन्सी















प्रतिक्रिया