५ कार्तिक २०८३, बिहिबार

टेलिकमले प्रति शेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० पुस । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारणसभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट ५५ रुपैयाँ प्रति शेयरका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौँमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७३/७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को प्रावधान अनुरुप आर्थिक वर्ष २०७४/७५ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट सुवोध कुमार कर्ण र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक समेत पारित गरेको छ ।

साधारण सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मितिदेखि तीन वटा साधारण सभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले कम्पनीको दशौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिबेदन पेश गर्दै उनले कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए । उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

उनले आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कायम राख्न कम्पनी सफल भएको र गत आ.व.को तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा बृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकलाई नवीनतम प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको जानकारी दिए ।

उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने मुलुकको अति विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताए । यसै सिलसिलामा समीक्षा अवधिमा कम्पनीको योगदान महत्वपूर्ण रहेको र उपभोक्ताहरूलाई नवीनतम तथा विश्वस्तरीय प्रविधिमार्फत उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यअनुरुप समीक्षा वर्षमा नेपालमै पहिलो पटक एलटीई प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) शुरु गर्न सफल भएको बताए ।