२ कार्तिक २०८३, सोमबार

कतारमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित चार पत्रकार पक्राउ

19.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ पुस । नेपाल पत्रकार महासंघ कतार शाखाको कार्यक्रममा भाग लिन कतार पुगेका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार कतारको दोहास्थित ग्राण्ड प्यालेस होटलमा पत्रकार महासंघको कतार शाखाले गरेको कार्यक्रममा सहभागी भएका बेला कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेलाई प्रहरीले पक्राउ गरेको हो । कतारको स्थानीय समय अनुसार दिउँसो २ बजे प्रहरीले उनीहरुलाई बिनाकारण कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।

प्रहरीले पत्रकारको साथमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेललाई पनि पक्राउ गरेको छ । पत्रकारहरुका लागि होटल तथा भिसाका लागि उनले सहयोग गरेका थिए । पक्राउ परेकाहरुलाई कतार प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सरकारी निकायको अनुमति बेगर कार्यक्रम गरेको आरोप कतार सरकारले लगाएको बुझिएको छ ।

कतारस्थित नेपाली दूतावासको पहलमा पक्राउ परेका पत्रकारहरुलाई छुटाउने कोसिस भइरहेको कतारमा कार्यरत एक पत्रकारले दैनिक नेपाललाई जानकारी दिए । अध्यक्ष आचार्य नेतृत्वको टोली गत सोमबार कार्यक्रममा भाग लिन काठमाडौँबाट कतार पुगेको थियो ।