
काठमाडौं, २६ पुस । काँग्रेस प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मालाई नियुक्त गरिएपछि काँग्रेसका युवा नेताहरु झस्किएका छन् ।
पार्टी पुनर्संरचनाको बहस चलाएका युवा नेताहरुलाई विभाजित गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेको युवा नेताहरुको बुझाइ छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि सभापति देउवासहित पहिलो पुस्ताका नेताले विश्राम लिन युवा नेताले दबाब दिन थालेपछि देउवाले युवालाई फुटाउनको लागि शर्मालाई प्रवक्तामा नियुक्त गरेको काँग्रेस युवा नेताहरुको दाबी छ ।
पार्टी नेतृत्वको कारण कांग्रेसले हार व्यहोर्नु परेको भन्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बद्रि पाण्डे, गुरु घिमिरे, प्रदिप पौडेलले सामूहिक रुपमा पार्टीको पुर्नजारण अभियान सुरु गरेका थिए । भावी नेतृत्वमा आउन चाहेकी देउवा पत्नी आरजु राणाको योजना अनुसार युवालाई फुटाउने रणनीति बनेको कांग्रेस नेताहरु बताउँछन् ।
पार्टीभित्र र आम जनतामा राम्रो प्रभाब राख्ने यी नेताले देशभर अभियान सञ्चालन गर्दा नेतृत्व छाड्न नैतिक दबाब पर्ने र अर्को महाधिवेशन सम्ममा दह्रो ठक्कर दिने भएपछि आरजु युवालाई फुटाउन लागेकी हुन् ।
विश्वप्रकाशलाई प्रवक्ता बनाउँदा आम रुपमा युवालाई नेतृत्वमा ल्याएकोमा बाहिरी रुपमा सन्देश गएपनि र भित्री रुपमा युवालाई छिन्नभिन्न बनाएर आफ्नो पकड राखिराख्नका लागि राणाले यस्तो रणनीति बनाएका हुन् । श्रोतका अनुसार ती मध्ये केही युवा नेतालाई राष्ट्रिय सभाको सदस्यमा उम्मेदवार बनाएर सबैको मुखमा बुझो लगाउने योजना बनाएका छन् ।
सात युवा नेताको केही दिन अघि विज्ञप्ति जारी गर्दै तत्काल केन्द्रीय समितिको बैठक र महाधिवेशन बोलाउन माग गरेका थिए । त्यसपछि युवा नेताले सोमबारमात्र राजधानीमा कांग्रेस निकटका प्रबुद्धसँग गरेको छलफलमा पनि अहिलको नेतृत्वबाट कांग्रेसको भावी यात्रा उज्वल नभएको भन्दै नेतृत्व लिन युवाले हस्तक्षेप गर्नुपर्ने सुझाब दिएका थिए ।
निर्वाचन पछि देउवाले केन्द्रीय सदस्य प्रकाशशरण महतलाई प्रवक्ता बनाउने तयारी गरिरहेको भए पनि युवा नेताहरुले अभियान सुरु गरेपछि तिनै मध्येबाट एक जनालाई प्रवक्ता बनाएर युवाको अभियानलाई तुहाउन लागेका हुन् । उनीहरुको अभियान अपेक्षित रुपमा अघि नबढ्ने देउवाको ठहर छ । प्रदेश र संघको निर्वाचन अघि युवा नेता गगनलाई पनि प्रवक्ता बनाउने चर्चा बाहिर आएको थियो । थापालाई प्रवक्ता बनाए भावी नेतृत्वमा हस्तक्षेप गर्दा आफ्नो एकलौटी नचल्ने भएपछि आरजु, बालकृष्ण खाँड, प्रकाशशरण महतले सभापति देउवाले गगनलाई प्रवक्ता नियुक्त गरेको पत्र रोकेका थिए ।
स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा प्रवक्ता नहुँदा पार्टीले सही सन्देश जनता सामु पु¥याउन नसक्दा पार्टीले हार व्यहोरेकोले अहिले आएर प्रवक्ता नियुक्ति गर्नुले तात्विक रुपमा कुनै असर नपर्ने कतिपय नेता बताउँछन् । शर्मा प्रवक्ता भएपछि अब सात जनाको समुहमा रहने छैनन् । किनकी सभापति देउवाले शर्मालाई गुन लगाए पछि अहिलेको असक्षम नेतृत्वको बचाउ गर्नुपर्ने उनको बाध्यता हुनेछ ।
सर्वत्र आलोचना भएका देउवाको प्रवक्ता भएकोमा विश्वप्रकाशका समर्थकहरु पनि खासै खुशी देखिएका छैनन । उनीहरुले सामाजिक सञ्जालहरुमा पनि विश्वप्रकाश जस्तो आशा लाग्दो र स्वच्छ छवी भएका नेता देउवा जस्तो आलोचित नेताको तर्फबाट प्रवक्ता बन्नु सोभनीय नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।















प्रतिक्रिया