१४ कार्तिक २०८३, शनिबार

लेखाका सबै कर्मचारीको सरुवा

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । सशस्त्र प्रहरी बलको लेखा शाखामा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई हटाइने भएको छ । सशस्त्र मुख्यालय हल्चोकस्थित स्टोर शाखामा भएको आगलागी प्रकरणबारे अनुसन्धान जारी रहेकै बेला लेखामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिने भएको हो ।  राजधानी दैनिकले समाचार छापेको छ ।

गृह मन्त्रालयले सशस्त्र मुख्यालयलाई पत्र लेखी लेखा शाखाका पुराना कर्मचारीको जिम्मेवारी हेरफेर गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरीको प्रशासन विभागले मातहतका सबै निकायलाई यसबारे पत्राचारसमेत गरेको छ ।

प्रशासन विभागले सोमबार दिएको सो निर्देशनअनुसार प्रहरी प्रधान कार्यालय हल्चोक, सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरीका बाहिनीहरू, गुल्म, गण, सीमा सुरक्षा कार्यालयलगायतका लेखा शाखा रहने सबै विभागले त्यहाँका कर्मचारीको सरुवा गर्नुपर्नेछ ।

गृह मन्त्रालयको निर्देशन र २० पुसको निर्णयअनुसार लेखामा कार्यरत सबै कर्मचारीलाई सरुवा गर्ने निर्णय भएको प्रशासन विभागले जनाएको छ । आर्थिक प्रशासन शाखामा रहने कर्मचारीहरू जिम्मेवार नभएको निष्कर्ष निकाल्दै प्रशासन विभागले ती सबैलाई हटाएर अन्य कर्मचारीलाई जिम्मेवारी दिन लागेको हो ।

४ पुसमा सशस्त्र प्रहरी बलको मुख्यालयभित्र आगलागी हुँदा महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए । सशस्त्रको खेलमैदान नजिकै रहेको भवनमा सल्किएको आगो निभाउन १ घण्टा लागेको थियो ।

आगलागीबाट जलेर कार्यालय प्रयोजनका स्टेसनरी सामग्री र लेखासम्बन्धी महत्वपूर्ण फाइल नष्ट भएका थिए । सशस्त्रको स्टोर राखिएको भवनमा आगलागी गराउने कार्यमा संलग्न भएको भन्दै सशस्त्रका एक नायब निरीक्षक (सई) तथा जवानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आगलागीको घटना शंकास्पद रहेको भन्दै सशस्त्र मुख्यालयले एआईजी प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यस्तै, सो घटनाबारे प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले पनि अनुसन्धान थालेको थियो । आगलागीबाट सशस्त्रको लेखासम्बन्धी महŒवपूर्ण फाइलसमेत जलेको छ । सशस्त्रमा लत्ताकपडा, एपीसी खरिदलगायतका विषय विवादमा तानिइरहेका बेला भएको आगलागीलाई संगठनले नै शंकास्पद मानेर छानबिन समिति गठन गरेको थियो ।

सो घटनाबारे अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय प्रहरी अपराध महाशाखाले सशस्त्रको ढुवानीसम्बन्धी कागजपत्र जलाउने उद्देश्यले सशस्त्र प्रहरी हबल्दार रामकृष्ण श्रेष्ठले मट्टीतेल छर्केर आगो लगाएको निष्कर्ष निकालेको थियो ।

सशस्त्रमा सामान ढुवानी शीर्षकमा नक्कली बिल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा लेखा शाखामा कार्यरत हबल्दार श्रेष्ठले समेत ढुवानीको नाममा पेस्की रकम लिएर अनियमितता गरेको देखिएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो । बयानपछि अख्तियारले ढुवानीसम्बन्धी फाइल मगाएको थियो । प्रहरी अनुसन्धानमा उनले सोही फाइलका प्रमाण नष्ट गर्न आगो लगाएको खुलेको छ ।

विगत आठ वर्षदेखि लेखा शाखामा कार्यरत हबल्दार श्रेष्ठ र सई हुमबहादुर थापा पक्राउ परेपछि प्रहरीले त्यहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको छैन ।

सशस्त्र स्रोतले दिएको जानकारीअनुसार हबल्दार श्रेष्ठको आर्थिक अनियमिततामा संलग्नता नभए पनि थापाको मिलेमतोमा १० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले बयानमा बोलाएपछि उनले आगो लगाउने योजना बुनेका थिए ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार घटनामा संलग्न अन्य अधिकारीमाथि समेत प्रहरीले गोप्य अनुसन्धान गरिरहेको छ । पक्राउ परेका हबल्दार श्रेष्ठमाथि आगलागी मुद्दामा महानगरीय प्रहरी वृत्त स्वयम्भूले कारबाही अघि बढाएको छ ।