१४ कार्तिक २०८३, शनिबार

बाम गठबन्धनको सरकार बन्दै गर्दा नेपालबाट चीन जाने सामान घट्दै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपालको चीनसँगको व्यापारघाटा उकालो लागिरहेकै समयमा चीन निकासी हुने सामानको परिमाण पनि घटेको छ ।

बढ्दो आयात र घट्दो निर्यातका कारण चीनसँगको व्यापार घाटा निरन्तर बढेको हो। नेपालबाट यार्सागुम्वा, जडीवुटी, गलैंचा, कफी, चियालगायत सामान चीन जाने गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

२०७२ सालमा आएको भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारघाटा निरन्तर बढ्दै गएको छ । आव २०७०/०७१ मा दुई अर्ब ५४ करोड रुपैयाँको सामान चीन गएको थियो । आव २०७३/०७४ मा यो मूल्य घटेर एक अर्ब ७० करोडमा झरेको छ ।

नेपालको चीनसँग बढ्दो व्यापारघाटाका विषयमा चीनको चासो व्यवहारमा परिवर्तन हुन सकेको छैन । नेपालमा रहेको चिनियाँ दूतावासले दुई साता अघि एक कार्यक्रममा नेपालबाट चीन सामान नगएकोमा चिन्ता व्यक्त गरेको थियो ।

कार्यक्रममा सहभागी नेपाल निर्यात परिषद्का अध्यक्ष शुरेसकुमार श्रेष्ठले काउन्सिलरले नेपालबाट सामान नगएकामा चिन्ता व्यक्त गरेको बताए। उनले भने, ‘हामीले भन्नुपर्ने विषय उनीहरूले भने । नेपालबाट कसरी सामान चीन लैजान सकिन्छ भनेर चिन्ता गरे। नाका खुलाउने कुरा भएपछि भने बोल्दै बोलेनन् ।’

नेपालले चीनबाट किन्नेभन्दा चीनलाई बेच्ने सामान कम भएकाले चालू आवको पहिलो चार महिनामा नेपाललाई ४२ अर्ब ३१ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

यो अवधिमा नेपालबाट चीन ६९ करोड ४० लाखको सामान मात्र गएको छ । चीनबाट ४३ अर्ब एक करोडको सामान आएको छ। नेपाललाई भारतपछि चीनबाट सबैभन्दा बढी व्यापार घाटा भएको छ ।

गत साउनको अन्तिमसाता नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालसँग चीनको व्यापार घाटा कम गर्न हस्तकला र जडीवुटीका सामान सहज रूपमा चीन जाने वातावरण बनाउने बताएका थिए । नेपालको व्यापारघाटाका विषयमा चीनका उच्च अधिकारीले चासो व्यक्त गरेको यो पहिलो पटक थियो ।