बुटवल, २२ पुस । रुपन्देही देवदहका फर्निचर व्यवसायी वसन्त पौडेलको शुक्रबार अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
ढोकाको चौकोस बनाउने ग्राहक बनेर देवदह–२ ढेकावारस्थित फर्निचर उद्योगमा आएका दुई जनाले शुक्रबार बिहान पौने ११ बजे व्यवसायी पौडेलमाथि गोली हानेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
प्रत्यक्षदर्शीका अनुसार कालो होन्डा मोटरसाइकलमा नकाव लगाएका दुवै जनाले पेस्तोल बोकेका थिए । श्रीमती सावित्रासँगै फर्निचर परिसरमा आगो तापिरहेका ३९ वर्षीया पौडेललाई नकावधारीले चौकसको नक्सा देखाउँदै गेटबाहिर बोलाएका थिए ।
‘गेटबाहिर बोलाएर नक्सा देखाउँदै गर्दा बलु (मृतक पौडेल) ले पेस्तोल देखेर भाग्न खोजेछन् । खेतमा लगाइएको तोरीमा अल्झिएर लडेपछि छातीमा ताकेर गोली हाने’, प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै छिमेकी देवीबहादुर कुँवरले भने । गोली प्रहारपछि ती बन्दुकधारी मोटरसाइकल चढेर नदी बगरतर्फ निस्किएका थिए ।
प्रहरीको बिरलै उपस्थिति हुने घटनास्थल महेन्द्र राजमार्गसँग जोडिएको खैरेनीचोकभन्दा झन्डै सात किलोमिटर टाढा छ । पौडेलको घटनास्थलमैै निधन भएको प्रत्यक्षदर्शीले बताए पनि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत घोषणा गरिएको थियो ।
पौडेल एमालेनिकट युवा संघका क्षेत्रीय सदस्य हुन् । एमालेका जिल्लास्तरीय नेता नीलकण्ठ पौडेलका एक्ला छोरा वसन्त राजनीतिभन्दा व्यवसायमा बढी आबद्ध रहेको देवदह नगरपालिकाका मेयर हीरा केसीले बताए । उनको उज्ज्वल फर्निचर उद्योग सञ्चालनमा छ । पौडेलको श्रीमती, दुई छोरा र छोरी छन् ।
रुपन्देहीको देवदहमा गत वर्षको पुस ४ गते इँटा व्यवसाय गर्दै आएका युवा संघका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । तिवारीको हत्या र शुक्रबार भएको पौडेल हत्याको प्रकृति र जिम्मा लिने व्यक्ति एकै हुन् । तिवारीको हत्या हुँदा बुटवलमा प्रदेश ५ को विषयमा आन्दोलन चर्किएको थियो ।
अहिले पनि प्रदेश मुकामका विषयमा बुटवलमा आन्दोलन भइरहेको छ । तर, यी हत्याका पछाडि राजनीतिक दाउपेच नभएको प्रहरी अधिकृत बताउँछन् । ‘हामीले घटनामा संलग्न अपराधीको खोजी गरिरहेका छौं’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक पवन भट्टराईले भने ।
एक वर्षअघि दुर्गा तिवारीको हत्यालगत्तै देवदह घर भएका फरार अभियुक्त मनोज पुनले जिम्मा लिएका थिए । यसपटक पनि गोली हानेर पौडेललाई अस्पताल ल्याउँदा नल्याउँदै पुनले नै जिम्मा लिएका छन् ।
आफू मलेसिया रहेको बताउँदै सञ्चारकर्मीलाई फोन गरी पुनले व्यक्तिगत रिसइबीका कारण हत्या गरेको दाबी गरेका छन् । प्रहरीले पुनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ ।
दुर्गा तिवारीको हत्यापछि गठित केन्द्रीय अनुसन्धान टोलीले चन्दा आतंक र व्यक्तिगत रिसइबीका कारण पुनले आपराधिक घटना घटाउने गरेको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको थियो । तत्कालीन प्रहरी एआईजी विज्ञानराज शर्मा नेतृत्वको टोलीले मनोज पुनलाई अन्य गुन्डा नाइके र अन्तर्राष्ट्रिय आपराधिक नाइकेसँग नेटवर्क रहेको व्यक्तिका रूपमा चित्रित गरेको थियो ।
सधैँ चन्दाको धम्की
मनोज पुनले पौडेललाई तिवारी हत्यालगत्तै ‘अब तेरो पालो’ भन्ने चेतावनी दिएका थिए । त्यसयता रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तुका व्यवसायीसँग फिरौती उठाउँदै आएका छन् । व्यवसायीले चन्दा नदिए सिध्याइदिने धम्की पाउँदै आएका छन् ।
प्रहरीलाई पटक–पटक उजुरी गर्दासमेत पुन पक्राउ नपरेपछि व्यवसायीले मर्नुभन्दा दिनु बेस भन्दै हुन्डीमार्फत पैसा पठाउने गरेका थिए । आफूले मागेको ३० लाख चन्दा नदिएको भन्दै पुनकै समूहले ०७४ साउन २० गते मणिग्रामको सिरिसा मार्बलमा दुई राउन्ड गोली फायर गरेको थियो । यसबीचमा प्रहरीले पुनका सहयोगी भन्दै झन्डैै १८ जनालाई पक्राउ गरेको छ । तर, पुनको गतिविधिमा कत्ति पनि कमी आएको छैन ।
देवदहवासी त्रसित
वर्षैपिच्छे युवा उद्यमीको गोली हानी हत्या भएपछि देवदहबासी त्रसित छन् । हत्यालगत्तै त्यहाँ केही व्यवसायीलाई पुनले ‘देखिस्’ भन्दै धम्क्याउने गरेको एक व्यवसायीले बताए ।
ढेकावारकी समित्रा शर्माले एकै वर्षमा तीन जनाको हत्या भएको भन्दै जिउ जोगाउन पनि कठिन भएको प्रतिक्रिया दिइन् । ‘दिउँसै गोली हानेर मान्छे मारिन्छ, खै हाम्रो सुरक्षा ? ’ उनले भनिन् ।
अनिश्चितकालीन बन्द
पौडेल हत्याको विरोधमा युवा संघ रुपन्देहीले अनिश्चिकालीन जिल्ला बन्दको आह्वान गरेको छ । घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला बन्दको आह्वान गरिएको जिल्ला अध्यक्ष नकुल शाहीले बताए । हत्याको विरोधमा शुक्रबार दिउँसोदेखि नै रुपन्देही ठप्प पारिएको थियो ।
को हुन् मनोज ?
तत्कालीन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि मनोज पुनको नाम एकाएक चर्चामा आएको हो । उनको वास्तविक नाम मनोज बुढामगर हो । ०७३ पुस ४ गते देवदहको खैरेनीमा तिवारीमाथि गोली चलाउनासाथ उनले प्रहरी प्रमुखसहित पत्रकारलाई फोन गरी हत्याको जिम्मा लिएका थिए । त्यसयता प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरेको छ ।
पुन रुपन्देही देवदह नगरपालिका २ का बासिन्दा हुन् । उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्षसमेत थिए । उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भए । माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईंलगायतसँग मिलेर उनले देवदह क्षेत्रमा सानातिना ठेक्कापट्टाको काम गर्थे ।
पाँच वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि उनले फिरौती माग्ने, गुन्डागर्दी गर्नेजस्ता गतिविधि जारी राखेका थिए । युथफोर्सको आडमा आपराधिक काम गरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो । त्यसपछि उनी माओवादीको वाईसीयलसँग नजिक भए ।
पुनले ०७२ फागुन २० मा दुर्गा तिवारीमाथि पहिलो पटक देवदहकै एक इँटा कारखानानजिकै गोली हानेका थिए । तर, त्यो गोलीबाट बचेका तिवारी ०७३ पुसमा सिकार बने । उनीमाथि गोली हानेको लगायत अन्य घटनाको अभियोगमा ०७३ जेठमा प्रहरीले पुनका सहयोगी रुपन्देही देवदहका २७ वर्षीय शालिकराम चापागाईं, नवलपरासी सुनवलका ऋषिराम घिमिरे, कास्कीका सन्जोग नेपाली, रुपन्देहीका राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, बेनिराम सोमै र रवि केसीलाई पक्राउ ग¥यो ।
०७३ को तिवारी हत्या काण्डपछि पनि पुनले गत साउन २० गते रुपन्देही मणिग्रामका टायल व्यवसायी दुर्गालाल भण्डारीको पसलमा गोली प्रहार गरी घटनाको जिम्मा लिएका थिए । उनले भण्डारीसँग ३० लाख चन्दा मागेका थिए । चन्दा नपाएपछि उनीमाथि गोली प्रहार भएको थियो ।
काठमाडौंमा निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्यामा पनि मनोजको हात रहेको खुलेको छ । तिवारीले रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाडौंका व्यवसायीसँग फिरौती उठाइरहेका थिए । यस क्षेत्रका व्यवसायीले हुण्डीमार्फत पुनलाई रकम पठाउँदै आएको बताइएको छ ।
पुनलाई यो क्रियाकलापमा सघाउने झन्डै १६ जना सहयोगी पक्राउ परे पनि पुन अहिलेसम्म पक्राउ परेका छैनन् । गत वर्ष भारतका सहरमा रहेको बताउने उनले अहिले मलेसिया रहेको बताइरहेका छन् ।












प्रतिक्रिया