२ कार्तिक २०८३, सोमबार

एमालेका अर्का युवाको हत्या पनि तिवारी काण्डसँगै जोडियो, यस्तो छ ‘हत्यारा’को बयान (अडियोसहित)

35.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २१ पुस । रुपन्देहीको देवदहमा शुक्रबार बिहान गोली हानी हत्या गरिएका एमाले कार्यकर्ता बलु भनिने बसन्त पौडेलको हत्या पनि गतबर्ष मारिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी काण्डसँग जोडिएको छ ।

घटनालगत्तै टेलिफोनबाट हत्याको जिम्मेवारी लिएका मनोज पुन मगरले व्यक्तिगत रिसिइबीका कारण आफूले पौडेलको हत्या गर्न लगाएको बयान दिएका छन् । दुर्गा तिवारीको हत्या पनि आफूले गरेको दोहोराउँदै फरार अभियुक्त पुनले तिवारीको हत्यालगत्तै पटकपटक पौडेललाई चेतावनी दिँदा पनि नमानेका कारण हत्या गरेको बताएका छन् । दुर्गा तिवारीको गतबर्षको पुस ४ गते हत्या भएको थियो।

तिवारीको हत्याअघि आफ्नो टिमका ८-९ जना युवाहरुलाई प्रहरीले थुनेको प्रसंग जोड्दै उनले सोहीकारण त्यतिबेला तिवारीको हत्या भएको दाबी गरेका छन् । तिवारीको हत्या लगत्तै आफूले पौडेललाई पनि चेतावनी दिएको बताउँदै पुनले पौडेलले हल्का रुपमा लिएका कारण शुक्रबार हत्या गर्न लगाएको बताएका छन् । टाउकोमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।  मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । ४० वर्षे पौडेल फर्निचर व्यावसायी हुन् ।

घटना लगत्तै रुपन्देहीका पत्रकार कपिल ज्ञवालीलाई उनले टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका थिए । केहीबर्ष यता भारतमा लुक्दै आएका पुनले टेलिफोनमा भने मलेसियामा रहेको बताएका छन् । प्रहरीलाई छक्याउन उनले मलेसियामा रहेको बताएको हुनसक्ने अडकल गरिएको छ ।

यस्तो छ पुन र पत्रकार ज्ञवालीबीचको टेलिफोन वार्ता: 

हेलो !

तपाईं कपिल ज्ञवालीजी हो ? म मलेसियाबाट बोल्दैछु, मनोज पुन मगर । आज जुन घटना घट्यो थाहा पाउनुभयो होला नि ?

हजुर थाहा पाएँ !

मैले त्यो घटनाको जिम्मेवारी लिन तपाईलाई फोन गरेको…मैले गर्न लगाएको… मेरो केटाहरुलाई ठोकेको हो त्यसलाई ।

ल हस् ! 

सुन्नु न, न्यूज त चाहिने होला तपाईंलाई त्यहाँ, के हो तपाईं हतारमा हुनुहुन्छ त लेख्नु पनि छैन् क्या हो ? (झर्किँदै)

हैन भइसक्यो, न्यूज त लेखिसकियो ।

कारण के हो भन्ने कुरा…अन्धाधुन्धै के लेख्नुहुन्छ त अनि ? (रुखो हुँदै)

भन्नुस् न हजुरले !

त्यही त मैले भनिरा’को छु त तपाईंलाई मनोज पुन बोलिरा’छु म मलेसियाबाट । मैले गराउन लागेको, मेरो केटाहरुले ठोकेको हो ,उसलाई गोली । मेरो व्यक्तिगत रिसिइबी थियो ।

के थियो रिसइबी ?

दुर्गा तिवारीको काण्ड हुनुबित्तिकै मैले यसलाई पनि वार्निङ दिएको । मेरो नाम भन्दा मेरो नातेदारहरु कसैलाई पनि अप्ठेरो पार्ने काम नगर भनेर । यो बलु पौडेल, दुर्गा तिवारी सबै मिलेर घटना हुनुभन्दा ८-९ दिन पहिला मेरो केटाहरुलाई भित्र (प्रहरी खोरमा) हालेका छन्, खैरहनीमा बस्दाखेरि । मेरो साथीभाइलाई फोकटमा फसाए यिनीहरुले । मैले यिनीहरुलाई त्यतिबेला पनि मेरो गल्ती केही छ भने भन्, नत्र फोकटमा दुःख दिने काम नगर भनेको । धेरैपटक वार्निङ दिएँ, धेरैपटक सम्झाएँ । बलु पौडेललाई पनि पटकपटक फोन गरेर सम्झाएँ, तर यसले मेरो फोनको कुनै रेस्पोन्स दिएन, यसले मलाई हल्का रुपमा लियो, त्यही भएर आज हत्या गरेको ।

हस… हस् !

(फोन काटियो)

सुन्नुहोस् अडियो पनि:

https://youtu.be/Uo1ImHkYyA0