काठमाडौँ, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । अध्यक्ष केपी शर्मा ओली विरामी हुँदा सुवास नेम्वाङको नेतृत्वमा गएको एमाले नेताहरुको टोलीले सत्ता लम्ब्याउन खोजेको भन्दै देउवामाथि आक्रोश पोखेका हुन् ।
बैठकमा सुवास नेम्वाङ ‘निर्वाचन आयोगलाई दबाब दिएर समानुपातिक मतपरिणाम रोक्ने लगाएर के गर्न खोजेको ?’ भनी प्रश्न गरेका थिए । एमाले नेताले आक्रोशपूर्ण प्रश्न गर्दा माओवादी केन्द्रका नेताहरु भने चुपचाप थिए । बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि बैठकमा छलफल भएको छ ।
बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए । उनले भने, ‘हामीले निर्वाचनअगावै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न आग्रह गर्दा सरकारले सुनेन, अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानूनी काम सरकारले चाँडो पूरा गरोस्, अन्य दीर्घकालीन महत्वका निर्णय तथा सरुवा बढुवा नगरोस् भनेर स्पष्ट राखेका छौँ ।’ उनले आयोगलाई सरकारले नै दबाब दिएर परिणाम रोकाएको आरोप लगाए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै सरकारले सत्ता हस्तान्तरणका लागि कुनै ढिलाइ आफूहरुलाई सैह्य नहुने अवगत गराएको जानकारी दिए ।
बैठकमा काँग्रेसका सभापति देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस नेताहरु विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष रावल, नेताहरु सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र अग्नि खरेल, माओवादी नेताहरु श्रेष्ठ, रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायत सहभागी थिए ।
प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुको सुझाव लिन प्रधानमन्त्री देउवाले बैठक आह्वान गरेका थिए ।
















प्रतिक्रिया