१४ कार्तिक २०८३, शनिबार

किन आएन विदेशी लगानी ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपालमा अनुकूल राजनीतिक तथा आर्थिक वातावरण नभएका कारण प्रतिबद्धताअनुसार लगानी नआएको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाको अनुमान छ ।

यद्यपि, सिमेन्ट, जलविद्युत्, होटेललगायत क्षेत्रमा भने पछिल्लो समय विदेशी लगानी भित्रिने क्रम बढेको उनले बताए ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उद्योग विभागमा ४ हजार उद्योग दर्ता छन् । तर, लगानी ल्याउने २ सय ५२ उद्योग मात्रै छन् । उनीहरुले नै चुक्ता पुँजीका रूपमा सो परिमाणको लगानी नेपाल भित्राएका हुन् । तर, उद्योग विभागका अनुसार हालसम्म नेपालमा विदेशी लगानी रहेका ४ हजार १ सय ९८ वटा उद्योग दर्ता भएका छन् ।

निर्यात गर्ने उद्योग ११ मात्रै
नेपालमा आएका विदेशी लगानीका २ सय ५२ कम्पनी मध्ये ३७ वटा मात्रै उत्पादनमूलक क्षेत्रमा छन् । यसमध्ये ११ वले मात्रै नेपालमा उत्पादन गरेर विदेश निर्यात गर्ने गरेका छन् । निर्यात गर्ने उद्योगमा ८ वटा एफएमजी र ३ वटा औद्योगिक उत्पादन रहेका छन् । बाँकी २६ वटा उद्योगले भने नेपालमै उत्पादन गरेर नेपाली बजारमै बिक्रीवितरण गर्ने गरेका छन् ।

९१ अर्ब रिजर्भमा
विदेशी लगानीका कम्पनीको रिजर्भ ९१ अर्ब रुपैयाँ रहेको छ । विदेशी कम्पनीले नेपालमा आर्जन गरेको रकम नै रिभर्ज रकम हो । यस्तो रकम उनीहरूले जुनसुकै वेला आफ्नो मुलुकमा लैजान सक्छन् । आर्थिक वातावरण राम्रो बनाएर आकर्षण गरिए विदेशी लगानीकर्ताले यो रकम नेपालमा पुनः लगानीसमेत गर्न सक्ने थापाले बताए ।

कुल १४ खर्ब १२ अर्ब लगानी
उद्योग विभागकाअनुसार शुरुदेखि हालसम्म नेपालमा स्वदेशी लगानीका ७ हजार २ सय ७ ओटा उद्योग दर्ता भएका छन् । यसरी दर्ता भएका उद्योगमा कुल १४ खर्ब १२ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।

हाल नेपालमा कति उद्योग सञ्चालनमा छन् र कुल लगानी कति पुगेको छ भन्ने अद्यावधिक तथ्यांक छैन । केन्द्रिय तथ्यांक विभागले ०६९ असारमा सर्वाजनिक गरेको १० औं औद्योगिक गणनाले मुलुकमा ४ हजार ७६ उद्योग रहेको देखाएको थियो ।

आर्थिक वर्ष ०७३-७४ सम्ममा उद्योग क्षेत्रमा ६ खर्ब ३७ अर्ब १८ करोड कर्जा प्रबाह भइसकेको छ । आर्थिक वर्ष ०७३-७४ औद्योगिक क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत रह्यो । आर्थिक वर्ष २०७३-७४सम्ममा उद्योगको क्षमता उपयोग ५७.३ प्रतिशत पुगेको छ ।

किन आएन विदेशी लगानी ?
सतिशकुमार मोर
वरिष्ठ उपाध्यक्ष, उद्योग परिसंघ

नेपालमा विदेशी लगानी पछिल्ला वर्षहरूमा बढेको छ । सरकारले आफूले प्रतिबद्धता गरेअनुसार विदेशी लगानीकर्तालाई सुविधा र सहजीकरण नगरिदिएकै कारण विदेशी लगानीकर्ताले प्रतिबद्धताअनुसार लगानी नल्याएको हुन सक्छ । तर, हामीले होङ्सी सिमेन्टमा करिब २६ अर्ब विदेशी लगानी ल्याएका छौँ । पछिल्ला वर्षहरूमा अरू लगानी पनि आइरहेका छन् । केही नीतिगत र व्यावहारिक कठिनाइको अन्त्य गर्ने हो भने नेपालमा विदेशी लगानीकर्ता उच्चदरमा बढ्नेछन् ।

उत्पादनमूलक उद्योगमा एफडिआई 
नरबहादुर थापा
कार्यकारी निर्देशक, राष्ट्र बैंक
सन् २०१६ सम्म नेपालमा ५५ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको देखिन्छ । उनीहरूको रिजर्भ ९१ अर्ब रहेको छ । नेपालमा लगानी ल्याउने २ सय ५२ मध्ये ३७ कम्पनी मात्रै उत्पादनमूलक क्षेत्रका छन् । त्यसमध्ये पनि ११ वटाले मात्रै निर्यात गर्छन् । हामीले विदेशी लगानी भित्राउँदा उत्पादन तथा निकासीमूलक उद्योगलाई अझ बढी प्राथमिकतामा राख्नुपर्छ । विदेशी लगानी आकर्षणका लागि राजनीतिक र आर्थिक वातावरणलाई अनुकूल बनाउनुपर्छ ।

सानो छैन लक्ष्य
उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र २५० खर्बको विदेशी लगानी भित्राउने घोषणा गरेको छ । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई लगानीको आकर्षक गन्तव्य बनाउँदै जलविद्युत्, पूर्वाधार, पर्यटन, वन र कृषि पैदावर, खानी तथा उत्पादनमूलक उद्योगमा खर्बौँ विदेशी लगानी भित्राउने महत्वाकांक्षी घोषणा गरेका थिए । प्रथम वर्षमा वैदेशिक लगानी कम्तीमा १० खर्ब भित्रााइने र सोही अनुपातमा प्रत्येक वर्ष वैदेशिक लगानीको रकम वृद्धि गर्दै जाने मन्त्रालयले जनाएको थियो ।