काठमाडौँ, १८ पुस । नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको हाइड्रो एक्स्पो–२०१८ को तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी पुस २१ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो–२०१८ गर्न लागिएको हो ।
एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीबाट हुने तय भएको आयोजकले जानकारी दिएको छ । एक्स्पोको उद्घाटन कार्यक्रम पुस २१ गते शुक्रबार विहान ११ बजे हुने बताइएको छ । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने अपेक्षा गरिएको आयोजकले बताएको छ ।
राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरुलगायत झण्डै सयभन्दा बढी स्टल रहने छन् । जसमध्ये करिव पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने बताइएको छ ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ । दर्जनौँ विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुरयाउने आयोजकले विश्वास लिएको छ ।
एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य विषयमा सेमिनार समेत संचालन हुनेछन् । पहिलो दिन पुस २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुस २२ गते बैंकिङ तथा इन्स्योरेन्स र अन्तिम दिन हाइड्रो पावर सम्बन्धि सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक विषयमा ६ भन्दा बढी सेमिनार संचालन गरिने आयोजकले जनाएको छ ।















प्रतिक्रिया