काठमाडौं, १२ पुस । प्रतिनिधि सभामा उपेन्द्र यादवको संघीय समाजवादी फोरमले जम्मा १६ सिट प्राप्त गरेको छ । त्यो पार्टीको समानुपातिकसमेत गर्दा २० सिटसम्म हुन सक्छ । यदि त्यस्तो भए एमालेको १२१ र फोरमको २० जोडेर १४१ सिट पुग्छ ।
यो हिसाबले एमाले र फोरम मिल्ने अनि नयाँ शक्ति तथा राजमोको समेत मत जोड्ने हो भने बहुमतको सरकार बनाएर ढुक्कसँग जान खासै समस्या पर्दैन ।
फोरमको पार्टी संरचना हेर्ने हो भने स्वयं उपेन्द्र माक्सवादी र एमाले पुष्ठभूमिबाट आएका । उनले ०५७ देखि ०६३ सम्म माओवादीमा समेत काम गरेका । वरिष्ठ नेता अशोक राई एमालेमा उपाध्यक्ष थिए भने सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पूर्व एमालेका राजधानी ईञ्चार्ज ।
सोमबार बिहान नवलपरासीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदातालाई धन्यावाद ज्ञापन गर्ने क्रममा भने, ‘एमालेले फोरमसँग सरकार निर्माणका लागि छलफल सुरु गरिसक्यो । अवस्था जटिल छ । तैपनि, हामी सरकार निर्माण र पार्टी एकताबारे दृढ छौँ ।’
उनले उपेन्द्र यादव र केपी ओलीबीच आइतबार साँझ भएको एकल वार्ताबारेको प्रसंगलाई यसरी व्याख्या गरे पनि छलफलमा उपेन्द्रले संविधान संशोधनबारे तपाईको स्पष्ट धारणा नआउञ्जेलसम्म त्यस्तो सम्भावना छैन भनेका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।












प्रतिक्रिया