काठमाडौं, १२ पुस । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२ मेगावाटको रोल्वालिङ खोलाबाट जलविद्युत् उत्पादन गर्न विस्तृत अध्ययनको कामलाई तीव्रता दिएको छ ।
कम्पनीले राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी निर्माणलाई तीव्रता दिएसगै रोल्वालिङको विस्तृत अध्ययन पनि अगाडि बढाएको हो ।
माथिल्लो तामाकोसीको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेसनलले नै रोल्वालिङको प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरिरहेको छ ।
विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमतिको काम पाएसँगै कम्पनीले दुई वर्ष प्रारम्भिक अध्ययन, वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।
कम्पनीले रोल्वालिङ डाइभर्सनअन्तर्गत थप २२ मेगावाट बिजुली उत्पादन गर्ने भएको हो । आयोजना अध्ययनको चरणमा रहेकाले डिपिआरको चरणमा पुगेपछि मात्र लागतको टुंगो लाग्ने उनले बताए । आयोजना निर्माण भएपछि बाह्रै महिना एकैनासले २२ मेगावाट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया