
काठमाडौं, १० पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा पार्टी एकता प्रक्रिया अघि बढ्नै लाग्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तीन अभिव्यक्तिले यतिबेला एमालेको नेतृत्व पंक्ति सशंकित भएको छ ।
राजधानीबाहिर रहेका प्रचण्डले चितवन, नवलपरासी र रुपन्देहीको भैरहवामा पुगेर दिएका तीन अभिव्यक्तिले पुसको चिसोमा एमालेको नेतृत्व पंक्ति भने तातिएको छ । एकातिर प्रचण्ड अनुपस्थित भएका कारण पार्टी संयोजन समितिको बैठक बस्न सकेको छैन् भने अर्कोतर्फ उनका तीन वटा विवादास्पद अभिव्यक्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि शीर्ष नेताहरु सशंकित भएका छन् ।
प्रचण्डको पहिलो अभिव्यक्ति थियो- आलोपालो सरकार । गत शुक्रबार चितवनमा पुगेर प्रचण्डले एमाले अध्यक्ष ओली र आफू बीचमा आलोपालो सरकार चलाउने मौखिक सहमति भएको बताएका थिए । प्रचण्डको यो अभिव्यक्तिले शुक्रबार बसेको एमालेको स्थायी समिति बैठकमा तरंग नै ल्यायो ।
त्यसको भोलिपल्ट (शनिबार) प्रचण्ड काठमाडौँ आउने कार्यक्रम थियो । सोही दिन पार्टी एकता संयोजन समितिको बैठक पनि राखिएको थियो । तर, मौसमका कारण जहाज उड्न नसकेको भन्दै प्रचण्ड काठमाडौँ आएनन् । शनिबारका लागि बोलाइएको संयोजन समितिको बैठक पनि स्थगित भयो । चुनावपछि पहिलोपटक पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको थियो । त्यो दिन नवलपरासीमा आयोजित कार्यक्रममा प्रचण्डले अर्को विवादास्पद भाषण गरे । उनले भनेका थिए – ‘एमाले अध्यक्ष केपी ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच वार्ता भएको खबर पाएको छु, फोरमसँग मिलेर सरकार चलाउने कोशिस गरे पनि असफल भएकाले एमालेका नेताहरु हामीसँग नरम भएका छन् ।’
उनले थपेका थिए -‘एमालेको एक्लै बहुमत आएको भए पार्टी एकता नहुन पनि सक्थ्यो, अब हुने भयो ।’
प्रचण्डको यो अभिव्यक्ति पनि विवादास्पद बन्यो । यो भनाइले त एमालेका शीर्ष नेताहरुलाई निकै ठूलो झट्का नै लाग्यो । स्वयम् एमाले अध्यक्ष ओलीसमेत निराश बने । ओली निकट स्रोतका अनुसार, ओली र यादवबीच बधाई साटासाट मात्र भएको थियो । मिलेर सरकार बनाउने वा माओवादीलाई बाहिर राख्ने भन्ने तहमा छलफल नै भएको थिएन । तर, प्रचण्डको यो अनपेक्षित अभिव्यक्तिले एमाले नेताहरु झस्किएका छन् ।
यतिमात्र होइन्, एमालेसँगै राष्ट्रिय सभा निर्वाचन अध्यादेश बहुमतीय बनाउनुपर्ने पक्षमा खडा भएको माओवादी पछिल्लो समय एकल संक्रमणीयमा लचिलो देखिएको छ। प्रचण्डले राष्ट्रिय सभामा कांग्रेस आवश्यक रहेको धारणा राखेका थिए । बाम गठबन्धनमा रहेको, अझ पार्टी नै एकता प्रक्रियामा रहेको पार्टीका अध्यक्षले दिएको यो अभिव्यक्तिले एमाले नेताहरुलाई सशंकित नहुने कुरै भएन ।
प्रचण्डका अभिव्यक्तिले एमाले पंक्ति निराश भइरहँदा उनी भने मंगलबार काठमाडौँ फर्कँदै छन् । प्रचण्ड फर्किएलगत्तै एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।















प्रतिक्रिया