काठमाडौं, ९ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न वाम गठबन्धनमा नयाँ प्रस्ताव आएको छ । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहअध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
आइतबार आफ्नो एक अन्तर्वार्तामा नेता पोखरेलले संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था गर्न सकिने र त्यो भनेको ओली र प्रचण्डलाई सह–अध्यक्षको जिम्मेवारी दिनु रहेको बताए । पार्टीको तल्लो पंक्तिसम्म एक भयो भनेमात्र नेतृत्व एक हुने भन्दै उनले दुबै पार्टीलाई एक बनाउन संयुक्त नेतृत्व आवश्यक रहेको बताए । ‘पार्टी एकतापछिको संक्रमणकालमा संयुक्त नेतृत्व नै हुन्छ । संक्रमणकाल सकिएपछि चाहिँ एकल नेतृत्व हुन्छ,’ उनले भने ।
नेता पोखरेलले एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षलाई पार्टीको सहअध्यक्ष बनेर एकता प्रक्रिया अघि बढाउन वाम गठबन्धनभित्रै बाट प्रस्ताव राखेर सुझाव दिइसकेको जानकारी दिँदै भने- ‘उहाँ (ओली र प्रचण्ड)हरुले चाहिँ केही भन्नुभएको छैन । तर, दुबै अध्यक्षले आफ्नो पार्टीको भावना बुझेर सामुहिक दृष्टिकोण बनाउनु हुन्छ । एकतापछि पार्टीले त्यही सामुहिक दृष्टिकोण लागू हुन्छ ।’
यद्यपी, सामुहिक नेतृत्वको विषयमा वाम गठबन्धनभित्र विधिवत छलफल भने नभएको उनले जानकारी दिए । ‘यस सम्बन्धमा अहिले सुझावका रुपमा विचारहरु आइरहेका छन्, तर निर्णय भइसकेको छैन्, दुबै पार्टीका अध्यक्षले सुझबुझ निर्णय लिनुहुन्छ, अहिलेको अवस्थामा संयुक्त नेतृत्व नै उपयुक्त विकल्प हो,’ उनले भने ।
















प्रतिक्रिया