२ कार्तिक २०८३, सोमबार

मनाङमा २५ बर्षपछि ढल्यो काँग्रेसको विरासत, चौंथो स्थानको एमाले कसरी बन्यो पहिलो पार्टी ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हेम रोकाहा/दैनिक नेपाल

पञ्चायतकालमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मनाङको विरासत सम्हालेको थियो । राप्रपाबाट ३ पटकसम्म पेमाछिरिङ गुरुङ मनाङको सांसद बनेका थिए । गुरुङ मनाङवासीको माझमा निकै रुचाइएका नेता हुन् । उनकै पालादेखि मनाङले विकासको बामे सरेको स्थानीयहरु बताउँछन् ।

गुरुङपछि मनाङको विरासत सम्हाल्ने राप्रपाका नेता कोही भएनन् । त्यस्तो भ्याकुममा नेपाली काँग्रेसका नेताहरु सांसद बने । र, उनीहरुले नै मनाङमा अधिपत्य जमाए । २०४८ को चुनावमा काँग्रेसबाट पाल्तेन गुरुङ विजयी भए । त्यसपछि लगातार तीनपटकसम्म काँग्रेस विजयी भयो । २०६४ सालमा पहिलोपटक माओवादी नेता देव गुरुङ विजयी भए । तर, २०७० सालको चुनावमा पनि काँग्रेसकै टेकबहादुर गुरुङले जिते । त्यतिबेला पहिलो काँग्रेस, दोस्रो राप्रपा, तेस्रो राप्रपा नेपाल र चौंथो एमाले थियो । तर, यसपटकको चुनावमा काँग्रेस २५ बर्षे बिरासतमात्रै गुमेन, चौंथो स्थानमा रहेको एमाले पहिलो पार्टी पनि बन्यो ।

कसरी त ?

मनाङबाट संसदमा प्रतिनिधित्व गरेका काँग्रेसका सांसदहरुले मनाङमा विकास गरेनन् भन्ने त्यहाँका स्थानीयहरुको गुनासो छ । त्यसकारण पनि मनाङका जनताले एमालेलाई विकल्पको रुपमा रोजेको मनाङका एमाले नेता ट्रिप्पल गुरुङ बताउँछन् । एमालेले पछिल्लो समय मनाङमा गरेका विभिन्न विकासका कामहरुका कारण पनि जित हासिल गर्न सफल भएको उनको तर्क छ ।

गुरुङ भन्छन्, ‘मनाङमा प्राधिकरणको जिम्मा रहेको विद्युत राम्रोसँग आपूर्ति भएको थिएन । पछि एमालेले लिजमा लिएर काम गर्न थालेपछि राम्रो भयो । एमालेले मनाङको पर्यटन विकास, वैकल्पिक पदयात्राको विकासमा पनि निरन्तर लागेको हुनाले एमालेलाई मनाङका जनताले पत्याएका हुन् ।’ वर्षौँसम्म सत्तामा बसेर पनि काँग्रेसले मनाङका जनतालाई ठग्ने मात्रै काम गरेको आरोप छ, नेता गुरुङको ।

मनाङमा अधिकांश जनता शिक्षित नभएकाले त्यहाँ शिक्षाको ज्योति छर्नु एमालेको चुनौति रहेको उनले बताए । ‘एमालेसँग मनाङका जनताको ठूलो आश छ’ गुरुङ सुस्केरा हाल्छन्, ‘मनाङलाई विकासको स्वाद चखाउने जिम्मेवारी अब एमालेको भागमा आएको छ । यो अवसरलाई एमालेले पूर्ण रुपमा सदुपयोग गर्नेछ ।’

एमालेका किङमेकर

ट्रिप्पल गुरुङ मनाङका प्रख्यात एमाले नेता हुन् । उनी नेकपा एमाले प्रदेश नम्बर चारका सदस्य पनि हुन् । उनी र उनको परिवारको मनाङमा राम्रै इज्जत छ । उनी पञ्चायतकालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ पटकसम्म सांसद बन्ने पेमा छिरिङ गुरुङका छोरा पनि हुन् । बुवाकै प्रेरणाले लागेको बताउँछन्, उनी ।

ट्रिप्पलले पहिलेदेखि नै चुनावमा उठ्ने इच्छा गरेका थिए । तर उनलाई परिवारको साथ भएन । त्यसमा काँग्रेसले पनि दवाब दिएको उनी सुनाउँछन् । पछि २०७० सालको दोस्रो संविधानसभाको चुनावमा उनी राप्रपाबाट चुनाव लडे । तर प्रतिद्वन्द्वीसँग १५० मतले पराजित भए । त्यसपछि उनले राजनीतिक बाटो मोडे । उनको रोजाई एमाले बन्यो । उनी मात्रै होइन्, उनले आफ्नो परिवारको सबैलाई एमालेमा ल्याए । त्यसपछि उनको राजनीतिक रफ्तार सुरु भयो ।

राप्रपामा बसेर काँग्रेसलाई चुनौती दिएका कारण उनीप्रति मनाङबासीको चासो पनि थियो, अब ट्रिपल के गर्लान भनेर ! मनाङमा चौंथो स्थानमा रहेको एमालेले पहिलो स्थानमा रहेको काँग्रेससँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । त्यसको उपयुक्त पात्र ट्रिपल मात्रै भएको चर्चा मनाङमा चलिरहेको थियो । तर, उनले चुनावमा नलड्ने निधो गरे । उम्मेदवार बन्नुको सट्टा कसरी पार्टीलाई जिताउन सकिन्छ भन्नेमा केन्द्रीत भए ।

ट्रिप्पलले आफ्नै दाजु पोल्देन छोपाङ गुरुङलाई प्रतिनिधिसभामा अघि सारे । उनले चाहेको भए प्रदेशसभामा लड्न पनि सक्थे । तर, दाजुभाई दुबै जना उम्मेदवार हुँदा  अनावश्यक टिकाटिप्पणी हुन्छ भन्नेमा उनी सचेत बने । पार्टी एकढिक्का भए जनताको मत जित्न सकिन्छ भन्ने आत्मविश्वास पनि पलायो उनलाई । त्यसपछि उनी चुनावी कमाण्डर बनेर खटिए । उनका दाजु पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभाको उम्मेदवार बने । र, जित पनि हासिल गरे । प्रदेश (क) मा एमालेका धोर्जे डण्डुल घले थोरै मतले हारे । प्रदेश सभा (ख) मा एमालेको समर्थनमा राजीव गुरुङ (दीपक) ले बाजी मारे । काँग्रेसको गढ रहेको मनाङमा एमालेले जित हासिल गरेको यो पहिलोपटक हो । मनाङमा पहिलोपटक सूर्यध्वजाबाहक झण्डा फहराउन सफल भएको जस यतिबेला नेतृत्व पंक्तिले ट्रिप्पललाई दिइरहेको छ ।

ट्रिप्पल भन्छन्, ‘म आफूलाई पदमा भन्दा पनि विकासमा केन्द्रित गर्न चाहन्छु । मनाङ सम्भावना भएको जिल्ला हो । काठमाडौँबाट नजिक रहे पनि यसको विकास हुन सकेको छैन्, अब म यसमा ध्यान केन्द्रीत गर्न चाहन्छु ।’

पदयात्राका लागि बिभिन्न पथहरुको विकास गर्न सके पर्यटकहरुको आगमन बढाउन सकिने उनको बुझाई छ । ट्रिप्पल एक सफल पर्यटन व्यवसायी पनि हुन् । उनको जोमसोम, कागबेनीमा होटल पनि छ । काठमाडौँको ठमेलमा एउटा होटल निर्माणाधिन छ । तर, अबको समय राजनीति तथा समाजसेवामा लागेर बिताउने उनको चाहना छ । मनाङ एशियाकै नमुना स्याउ खेती भएको क्षेत्र पनि भएको गुरुङ बताउँछन् । तर, मनाङका जनता राजनीतिक रुपमा पनि अशिक्षित रहेकोले उनीहरुलाई शिक्षित बनाउनु आवश्यक रहेको ट्रिपल बताउँछन् ।

यसो त ट्रिप्पल एक भेट्रान पाइलट पनि हुन् । पाइलट पेशाबाट रिटायर्ड भएपछि मात्रै उनले राजनीतिमा इच्छा देखाएका थिए । बुवाले मनाङमा बनाएको छापले उनलाई राजनीतिमा प्रवेश गर्न सजिलो भयो । आफूले राजनीतिलाई समाजसेवाको रुपमा लिएको उनी बताउँछन् । राजनीतिबाट नेताले आफ्नो नभई देश र जनताको फाइदाको लागि सोच्नुपर्छ भन्ने विचार छ, उनको ।