२ कार्तिक २०८३, सोमबार

ओलीसँग वाइसिएलका नेताले भने- प्रचण्डको नेतृत्वमा रगत बगायौं, तपाईंको नेतृत्वमा पसिना बगाउछौं

11.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३ पुस । ‘१४ बर्ष जेल बसें तर कुनै पूर्जीमा हस्तक्षर गरिन । कतिसम्म भने जेलबाट छुट्दा पनि छुटकारा पूर्जीमा हस्ताक्षर नगरी निस्किंए’ नेकपा(एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बधाइ दिन ओली निवास बालकोट गएको वाइसिएल नेपालको केन्द्रीय पदाधिकारीको समुहलाई आफ्नो जेल जीवनको स्मरण सुनाउदै ओलीले भन्नुभयो ‘जेल हालेको केही समयपछि एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठिक परेको त राजाको मन्त्री हुन तयार छु भनेको पो रहेछ ।’

त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिडेको मान्छे फेरी राजाको मन्त्री खाने कुरा हुन्छ ? संविधान मान्दिन भनेर हिडेको मान्छेले त्यही संविधान अन्तरगत मन्त्री हुने कुरा हुन्छ ? ओलीले सुनाउनु भयो ‘०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ ।’ अडानबाट कहिले पनि विचलित नहुने स्वभाव भएकोले निर्णय लिने बेलामा नै सोचविचार गर्ने बानी रहेको बताउनुभयो ।

द्वन्द्वको बेला माओावादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको ओलीले वाइसिएलका नेताहरुलाई सुनाउनु भयो । ‘कहिले सेनापतिलाई आग्रह गरेर,कहिले आइजीलाई,कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु’ ओलीले भन्नुभयो ‘बिचार र बाटो सही वा गलत केहो भन्ने बहस गरौंला तर मान्छेको ज्यानै मार्नु हुन्न भन्ने मेरो मान्यता हो ।’ २०२८ सालमा झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थालेपनि मारकाटबाट राजनीति बदलिदैन भनेर त्यसैबेला त्यस्तो बिचार त्यागेको बताउनुभयो ।

ओलीले आफ्नो बानी ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने’ प्रकारको भएको बताउनुभयो ।

वाइसिएलका नेताहरुले ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न आग्रह गरेका छन् । ओलीले पार्टी एकता हुँदा कोही नेतालाई म समितीमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्ते चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुने आग्रह गर्नुभएको छ । काँग्रेसको शासनबाट देशले मुक्ति पाएको भन्दै यो जनमतको सम्मान गर्दै देशलाई विकासको बाटोमा लैजान वाइसिएलहरुले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना पनि दिएका छन् । उनीहरुले देशको विकास र समृद्धिका लागि आफूहरु जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । वाइसिएलका उपाधक्ष्य वीरु तामाङले भन्नुभयो ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं तपाईंको नेतृत्वमा पसिना बगाउन तयार छौं ।’

आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमणपत्र राखेर ऋणदिने व्यवस्था गरिएको सुनाउनु भयो । युवाहरुलाई उद्यमी,अध्ययनशिल,समाजका रोल मोडल र सीपयुक्त हुन ओलीले सुझाव दिनुभएको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाको नेतृत्वमा बधाइ दिन टोली आएको थियो ।