बुद्धिमान जैसी, प्रमुख नापी अधिकृत, ललितपुर
० तपाई विगत साढे दुई वर्ष देखि नापी कार्यालय ललितपुरको प्रमुख हुनुहुन्छ । यो कार्यालयको प्रमुख भएपछि के कस्ता सुधार गर्नुभयो ?
म यहाँ प्रमुख बनेपछि भौतिक रुपमा भएका कमि कमजोरीहरु हटाउन लागि परे । सेवाग्राहीहरुलाई चाहिने सेवामा नियमित रुपमा कसरी सहज बनाउन सकिन्छ भनेर लागि प¥यौं र हालसम्म पनि निरन्तरता दिइरह्यौं । हामीले बुँदागत रुपमा भन्दा पनि कमि कमजोरी हटाएर सेवा प्रवाहलाई गुणस्तरमा वृद्धि गराउने काममा लागि प¥यौं । त्यस बाहेक यस कार्यालयमा सुरुका दिनमा घामबाट नक्शा प्रिन्ट गर्ने (जस्लाई ब्लुप्रिन्ट भनिन्थ्यो) चलन रहेकोमा त्यसलाई हटाएर कम्युटर प्रविधिबाट चाहे नक्शा ट्रेस होस वा पुरै प्रिन्ट होस कम्प्युटरबाट दिने काम भएको छ । वर्तमान अवस्थामा डिजिटल वा कम्युटरबाट सेवा प्रवाह गर्ने क्रममा हाम्रो डिजिटल डाटाको व्यवस्थापन र अद्यावधिक गरिएको छ । किनकी सबै डाटाहरु पूर्ण रुपमा नबनेका र बनेकाहरु पनि त्रुटिपूर्ण रहेका कारण तिनको निरन्तरता र शुद्धताका लागि काम गरिरहेको छु । ललितपुर जिल्लाको यो कार्य क्षेत्रमा सबै डाटाहरु अपडेट भइसकेको अवस्था छ । जब प्रविधि रुपान्तरण हुन्छ तब सबैभन्दा पहिले नयाँ एडप्ट गरिएको प्रविधिसँग कार्यालयका कर्मचारीहरुलाई अभ्यस्त गराउने काममा विधि र प्रविधिप्रति जानकार भन्दा पनि सेवा प्रवाह गर्न अभ्यस्त भएका छन् । यसरी पूर्ण रुपमा डिजिटल प्रविधिबाटै सेवा प्रवाह हुन सकिरहेको अवस्था छ ।
० आगामी दिनमा अझ सहज र सरल तरिकाले जनताले तुरुन्तै सेवा पाउने किसिमले गर्नुपर्ने कामहरु के के हुन् ?
हामी कुरा गर्न जति सजिलो छ नाप नक्शाको काम एकदमै जटिल छ । नाप नक्शाका काममा प्रशासनिक, कानुनी र प्राविधिक जटिलताहरु छन् । प्राविधिक रुपले हाम्रा डाटाहरु जब शुद्ध हुन्छन् तब मात्र सहज हुन्छ । हामी कहाँ २०२२÷०२४ सालमा नाप नक्शा भएका हुन् । ति श्रेस्ताकै आधारमा काम भइरहेका छन् । अहिले ५०÷५२ वर्षको अन्तरालमा पनि मौलिक डाटाहरु भनेका तिनै हुन् । तिनै पुराना डाटाहरुबाट आजको सेवा प्रवाह गर्दा केहि अप्ठ्याराहरु छन् । नेपाल सरकारले पुनः नाप नक्शा गर्ने भनेर कार्यक्रम पनि बनाएको छ । यस कार्यालयमा पनि पुनः नाप नक्शा गर्ने भनेर कार्यक्रम बनाइएको छ । जसअनुसार पुनः नाप नक्शा बनाउने कार्य भइरहेको छ । यसरी नयाँ नाप नक्शाको कामलाई धेरै तिब्र अभियानका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता छ । किनकी ५० वर्ष अघिको तथ्यांकले अहिलेको कुरालाई प्रतिनिधित्व गर्न सक्तैनन् । त्यो अवस्थामा ५० वर्ष पुरानो तथ्यांक लिएर अहिले काम गर्न सकिदैन । नापी विभाग र भूमिसुधार तथा व्यवस्था मन्त्रालयले त्यो खालको सोच बनाउनुपर्दछ । अहिलेको परिबर्तित सन्दर्भमा देशभरको जग्गाहरु पुनः नापी गरेर पुरानो प्रविधिबाट हैन विश्वका बिभिन्न ठाउँहरुमा चलेको आधुनिक विधिबाट नाप नक्शाको काम गरेको खण्डमा सेवा प्रवाहमा गुणस्तर कायम गर्न सकिन्छ ।
० नापी र मालपोत कार्यालयहरुमा काम गर्ने कर्मचारीलाई आम मानिसले घुस खान्छन् र जनताको काम गर्दैनन् भन्ने नकरात्मक दृष्टिकोण छ । त्यसमा परिवर्तन गर्न के गर्नुपर्दछ ?
वास्तवमा यी कार्यालयहरुमा काम गर्ने कर्मचारीहरु प्रति आम सेवाग्राहीहरुको नकरात्मक दृष्टिकोण छ । हाम्रा आर्थिक पाटोमा के उल्लेख छ भने कार्यालयले सेवा प्रवाह गर्ने र लेखापढि व्यवसाय गर्ने साथीहरुको पनि संलग्नता रहन्छ । लेखापढि व्यवसायीहरुले निकै महंगो भाडा तिरेर पचास भन्दा बढि कार्यालयहरु मालपोत र नापी कार्यालय नजिकै बसेका हुन्छन् । काम गर्ने व्यक्तिको दिनभरको ज्याला लगायतका सबै खर्च जोडेका हुन्छन् । तर, नापी कार्यालयको खर्च भन्दा त्यो रकम सेवाग्राहीबाट धेरै गुणा बढि तिरेका हुन्छन् । यसरी व्यक्तिले अतिरिक्त रकम तिरेको महसुस गरेका कारण नकरात्मक सोच बनेको हो । तथापि उहाँहरुले खर्चको रसिद दिएर दर रेट कायम गरेको देखिदैन । वास्तवमा लेखापढि व्यवसायीहरुले शुल्क लिनु स्वाभावकै हो । तर रसिद्मा उल्लेख भएको रकम र सेवाग्राहीले तिरेको रकम फरक भएपछि यो अवस्था आएको हो । त्यो मार हाम्रो संस्थामा काम गर्ने कर्मचारीलाई परेको छ । यदाकदा कमि कमजोरी हाम्रै साथीहरुबाट पनि नभएका होइनन् । तर, त्यस्ता कमि कमजोरीहरुलाई निरुत्साहित गर्नका निमित्त पनि राज्यका विभिन्न निकायहरु सक्रिय छन् । हाम्रा प्रमुख देखि लिएर सबै कर्मचारीहरु यो कामलाई मासिक बैठकमा होस् वा अन्य बैठकमा नै किन नहोस् सेवाग्राहीका गुनासाहरु सम्वोधन गर्नका लागि निर्देशन गरिएको छ । प्रविधि रुपान्तरणका माध्यमबाट पनि यी गुनासाहरु कम गर्न सकिन्छ । जस्तैः अनलाइन सेवा उपलब्ध गराउन सकिन्छ । जस्तै अहिले देशभरका १४ वटा मालपोत र नापी कार्यालयहरुमा यो व्यवस्था गरिएको छ । त्यसरी अनलाइनबाट सेवा प्रदान गरिएको अवस्थामा बीचमा हुने सबै चलखेलको अन्त गर्न सकिन्छ । यसरी खर्च गरेबमोजिमको बिल पाउने गरी व्यवस्था हुन्छ ।
० तपाई यो पेशामा प्रवेशका समय र अहिले हेर्दा सेवाग्राहीले पाएको भिन्नतामा के पाउनुहुन्छ ?
शुरुकै अवस्थामा हाम्रो सेवामा हात्ते प्रविधि (मेन्युअल्ली) नै थियो । अहिले १० वर्षको बीचमा क्रमैसँग प्रविधि रुपान्तरण भइरहेको छ । यो हाम्रो ट्रान्जिसनल फेस नै हो । तर पनि प्रविधि रुपान्तरणले सहजता आएको छ । समय अनुसार नै रुपान्तरण हुँदै गएका छन् । पहिले पहिले दुई घण्टा लगाएर बैंकमा लाइन लगाएर रकम झिक्नुपर्ने अवस्था थियो । तर अहिले निजी बैंकहरुले सेवाग्राहीलाई दिएको जस्तो सेवा प्रवाह गर्न सकौं भन्ने हाम्रो भावना पनि जागेको छ । त्यसैले अहिले देखेर सिक्ने कुराहरु पनि धेरै छन् । यसरी भौतिक र मेसिनरी रुपले पनि सेवा प्रवाहमा युक्त कार्यालयहरु बनेका छन् । यसरी सेवा प्रवाहमा गुणस्तरीय विधि र प्रविधिको अवलम्बनले जसरी सिसी क्यामेरा राखेर अनुगमन गरिएको छ । त्यसले सहज बनाएको छ । यसरी हाम्रा कार्यालयमा धेरै सुधार भएका छन् ।
० नाप नक्शा सम्बन्धी विषयमा सेवाग्राही बीचमा पहिला भन्दा मुद्दा मामिलाहरु जस्ता झमेलामा कमी भएका हुन् ?
मुद्दा मामिलाका संख्यामा कमि भएका छैनन् । प्राविधिक रुपमा कमि भएका छन् । तर, जग्गाको मूल्यमा वृद्धि भएका कारण अहिले झनै चासो बढेको छ । पहिला पहिला जग्गाको मोल कम थियो । त्यसैकारण मानिसले चासो राख्दैनथे तर, अहिले साना तिना कुरामा पनि मानिसहरुको चासो बढेको छ । त्यसैले मुद्दा मामिलाको संख्यामा घटेको छैन । किनकी जग्गाको मोल बढेका कारण साना तिना जग्गामा पनि चासो बढेको छ । जबकी पहिला पहिला काठमाडौंका जग्गाहरु रोपनीका हिसावमा गणना हुन्थे । सेवा प्रवाह दिने सबै कार्यालयहरुमा पनि विधि र प्रविधिका हिसावले सुधारका प्रयासहरु भइरहेका छन् ।
० तपाई यो पेशामा लाग्न प्रथमतः कसरी प्रेरणा जाग्यो ?
म बाल्यकालमै पढ्दा देखि नै भूगोलका विषयमा चासोे राख्ने गर्दर्थे । त्यसैकारण भूगोल र गणितमा पनि बढि नम्बर ल्याउने गर्दर्थे । काठमाडौं प्रवेश गर्दा देखि नै नापीमा काम गर्छु भन्ने पनि लागेको थिएन । तर, संयोगले मेरो विषय मिल्दो ठाउँमा पुगेको हुँ । विज्ञान विषय लिएर पढेका व्यक्तिलाई यो ठाउँमा पनि काम छ है भन्ने जानकारी पाएपछि नापीमा प्रवेश गरेको हुँ । त्यो समयमा विज्ञान विषय लिएर पढ्नेहरु अत्यन्तै कम थिए । त्यसैकारण जागिर पाउन पनि सजिलो थियो । त्यसपछि मेरो निरन्तरता नापीकै सेवामा रह्यो ।
० तपाई जागिर गर्दा किन गरिएछ यो जागिर भनेर दुःख कहिले लाग्यो र काम गर्ने क्रममा कहिले खुशी हुनुभयो ?
नाप नक्शाको काममा असाध्यै दुःख हुन्थ्यो । अहिले लगभग सबै ठाउँमा बाटोघाटोको व्यवस्था भएको छ । हामीले काम सुरु गर्दा धरै ठाउँमा बाटोघाटो नै थिएन । हाम्रा गुरुहरुले “सर्भेयरले हिडेर बाटो बनाउँछ” भन्ने सिकाउनु भएको थियो । नयाँ ठाउँमा सर्भे गर्नुपर्दा अहिले पनि प्रिलिमिनरी (प्रारम्भिक) काममा सर्भेयरले नै गर्नुपर्दछ । त्यो दृष्टीकोणबाट अघि बढेका कारण हामीमा धेरै समस्याहरु हुन्थे । त्यो समयमा सर्भेका काममा हिड्दा रात परेपछि बास बस्ने ठाउँ नै हुँदैनथ्यो । हामी व्यक्तिगत सुरक्षाका कारण काम गर्दा एलजी राइफल सहितको बडि गार्ड लिएर पनि काम गरियो । जीव जन्तुको सुरक्षाका हिसावले राइफल नै लिएर हिड्नुपर्ने अवस्था थियो । तर, अहिले भने त्यो अवस्था एकदमै कम छ । पुरै देशको नापी गर्दा २०२४/०२६ सालमा कस्तो अवस्था थियो ? यसरी सञ्चारका साधन नभएका ठाउँमा सुनेको र व्होरेको अवस्था सम्झदा अहिले धेरै सहज भएको महसुस हुन्छ । अहिले विधि र प्रक्रिया यन्त्र र उपकरण सबैले सहज बनाएको छ । साथै भौगोलिक रुपले पनि सहज बनाएको छ ।
यसरी मैले बत्ती मुनीको अध्यारोको रुपमा मलाई जीवनमा सबैभन्दा दुःखी नुवाकोटमा भएको थिएँ । पञ्चायत कालमा एक रात म नुवाकोटको गाउँको वडा सदस्यको घरमा बास बसेको थिएँ । घुमाउरो घरको सानो बरण्डामा पाली मुनी सुतेका थियौं, घरमा गृह कलह रहेछ । त्यसैले थाकेर गएका हामीहरुलाई खान दिने कुरा पनि भएन । भुटेको मकै पनि खान पाइएन । रातभर मुसल्धारे पानी परेको थियो । सुतेको राडीमा कुकुर आएर हामीसँगै सुत्यो । खाना पनि पाइदैन । अलिकति फर्कदा पानीमा रुझिन्थ्यो । यस्तो अवस्थामा रात बिताइयो । रातको ११ बजे मात्रै वडा सदस्य भिज्दै झल्लु भएर घरमा फर्कनु भयो । तथापि सर्भे गर्ने क्रममा आफुले गरेका कामले अर्का व्यक्तिको उद्दार भएका कारण एकदमै खुशी लागेको अवस्था पनि छ । किनकी यो असाध्यै मेहनती काम हो ।
म सिरहामा काम गर्दा करिब ४ बजे एक जना चमार थरका सेवाग्राही कामका लागि कार्यालयमा आउनुभयो । उहाँको जग्गा राजमार्गमा परेका कारण सबै सिद्धिएछ । त्यसपछि उहाँ बिदेशिनु भएछ । त्यसपछि कसैले केहि जग्गा बाँकी हुन सक्ने भनेर बताइदिएछन् । त्यसपछि उहाँ आफु कतै जाने ठाउँ पनि नभएको र फिरन्ता भएको बताउनुभयो । मैले खानपान, बसोबासको समेत व्यवस्था मिलाएर फिल्ड निरीक्षण गर्न खटाएँ । त्यसपछि उहाँको जग्गा जमिन छुट्टाएर पठाएँ । उहाँ पनि असाध्यै खुशी हुनुभयो ।
० अन्तमा……?
देशमा चौतर्फी विकास हुँदै गएको छ भन्नेमा हामी सबै आशावादी नै छौं । म नापी सेवामा काम गर्ने सबै साथीहरुलाई आफ्नो इथिक्स प्रति इमान्दार भएर काम गर्न अनुरोध गर्दछु । बाहिर आएका गुनासाहरु आफ्ना तर्फबाट नआओस भन्ने विषयमा सबैले प्रयास गरेको खण्डमा आगामी दिनमा असाध्यै सुःखद् हुनेछन् । नापीमा कार्यरत कर्मचारीले असाध्यै दुःख कष्ट गरेका छन् । देशका कुना कुनामा गएर सेवा प्रवाह गरेका छन् । तर मेहनत पूर्वक गरिएका राम्रा कामहरुको उजागार हुन सकिरहेका छैनन् । मैले पढेको थिए १० वटा राम्रा काम गर्दा एक काममा गल्ति भयो भने कसैले पनि प्रशंशा गर्दैन । त्यसैको विरोध गरिन्छ । यहाँका धेरै मेहनती साथीहरु छन् । देशका प्रत्येक घरका जनताका प्रत्येक कित्ताको नाप नक्शा गराउने काममा कठीनतम काम गर्ने हाम्रै कर्मचारी साथीहरु हुन् । यसरी नयाँ युग अनुसार जग्गाको महत्व उत्तिकै बढेको छ । त्यसैले जग्गा नै सबै प्राणीको गतिविधि गर्ने ठाउँ हो । त्यसको उचित व्यवस्थापनमा जग्गासँग सम्बन्धित सबैले बुझ्नुपर्दछ । किनकी जग्गा नत भोली नै फेर्न सकिन्छ त्यसैले व्यवसायिक नैतिकतामा बस्नुपर्दछ ।













प्रतिक्रिया