काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल अब छिमेकी भएका छन् ।
५ वर्षदेखि बस्दै आएको लाजिम्पाटको निवास छाडेर ललितपुरको खुमलटार डेरा सरेपछि प्रचण्ड परिवार कटवालको छिमेकी बनेको हो । कटवालको घर पनि खुमलटार हाइटमै छ ।
प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सीनाका अनुसार ललितपुर–१५ स्थित खुमलटार हाइटस्थित नयाँ घरमा विहिबारदेखि दाहाल परिवार बस्न थालेको छ ।
खुमलटार हाइटमै घर भएका नेपाल उद्योग वाणिज्य महासँघका पूर्व अध्यक्ष महेशलाल प्रधानले प्रचण्ड र कटवाल अबदेखि छिमेकी भएको पुष्टि गरे । खुमलटारमा देशका यस्ता दिग्गज नेता आउनु टोलवासीका लागि गौरवको कुरा भएको उनको भनाई छ ।
पहिलो संविधानसभा निर्वाचनपछि तत्कालिन प्रधानसेनापति कटवालका कारण प्रचण्डले प्रधानमन्त्री पद गुमाउनुपरेको थियो । कटवाललाई हटाएर प्रचण्डले आफूनिकट सैनिक अधिकारीलाई सेनापति बनाउन खोज्दा तत्कालिन राष्ट्रपति रामवरण यादवले रोकिदिएका थिए । त्यसपछि प्रचण्डले प्रधानमन्त्री पद नै छाड्नुपर्यो । त्यसयता दुई जनाबीच सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । अब छिमेकी हुँदा सम्बन्ध सुमधुर हुनसक्ने आश गरिएको छ ।















प्रतिक्रिया