१४ कार्तिक २०८३, शनिबार

एटीएम मेसिन स्तरोन्नती नगर्दा बैंक जोखिममा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ । एटीएम कार्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नती नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो ।  कान्तिपुर दैनिकले समाचार छापेको छ ।

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले ‘चिप’ (ग्राहकको महत्वपूर्ण विवरण रहेको विद्युतीय औजार) मा आधारित कार्ड बनाइसकेका छन् । तर, कार्डमा प्रयोग गरिएका ‘चिप’ पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती गरेका छैनन् । यसकारण एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो ।

चिपमा भएको ग्राहकको विवरण नक्कल(कपी) गर्न सकिदैन । चिप नभएको (म्याग्नेटिक कार्ड) मा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप नभएको भन्दा भएको एटीएम कार्ड बढी सुरक्षित हुन्छ । बैंकहरुले चीप पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै अपराधीले एटीएमबाट पैसा चोरी रहेका छन् ।

भिजा कार्ड प्रदायक कम्पनीले बैंक तथा वित्तीय संस्थालाई गत असोज १५ सम्म सबै एटीएम मेसिनहरु ‘युरोप मास्टर कार्ड एन्ड भिजा’ (इएमभी) अनुसार स्तरोन्नती गर्न आग्रह गरेको थियो ।

त्यसैअनुसार केही बैंकले स्तरोन्नती थालनी गरेपनि अधिकांशले गरेका छैनन् । निर्धारित समयभित्र एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंकहरुमा कार्डमार्फत पैसा चोरीका घटना भएमा त्यसबापतको क्षति भिजा कार्ड प्रदायक कम्पनीले नबेहोर्ने स्पष्ट पारिसकेको छ । यसकारण त्यस्ता घटनामा भएको क्षति सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने भएकाले वित्तीय जोखिम बढेको हो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा एटीएम कार्डमार्फत रकम चोरीका घटना भइरहेका छन् । गत असोज यता यस्ता घटनाको क्षति सम्बन्धीत ‘कार्ड भेन्डर’ कम्पनी (भिजा) ले बेहोर्ने छैन । ग्राहकलाई भने यसको असर पर्ने छैन । कार्डमार्फत ग्राहकको खाताबाट पैसा चोरी भए पनि बैंकले क्षतिपूर्ति गर्ने भएकाले ग्राहकलाई असर नपर्ने भएको हो ।

बैंकर्स संघका पूर्व अध्यक्ष शशिन जोशीले तोकिएको समयमा एटीएम कार्ड र मेसिन स्तरोन्नती नगर्ने बैंकमा वित्तीय जोखिम उच्च रहने बताए । ‘एकातिर राष्ट्र बैंकको निर्देशन पालना नगरेको ठहर्छ,’ उनले भने, ‘अर्कातिर वित्तीय जोखिम बढछ ।’ हाल आफू आवद्ध नबिल बैंकले साढे २ वर्ष अघि नै चिपमा आधारित कार्ड जारी गरेको बताउदै उनले भने, ‘पीओएस/पीओटी टर्मिनल पनि स्तरोन्नती भइसकेको छ । एटीएम स्तरोन्नती गर्ने काम सुरु भएको छ । २/३ सातामा त्यो पनि पूरा हुन्छ ।’ अरु केही बैंकहरुले अझै पनि निर्देशित मापदण्ड पूरा नगरेको सुन्नमा आएको उनले बताए ।