-सुमन बस्नेत, प्रत्यक्षदर्शी
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भंगालमा कार्यकर्ता साढे १० बजे जम्मा भएर घरदैलो गर्ने कार्यक्रम थियो । सोहीअनुसार तपस्थली वृद्धाश्रममा जम्मा भएर कांग्रेस कार्यकर्ताले घरदैलो सुरु गरे ।
केही दिनअघि गगन थापा गोरखा गएकाले त्यहाँ केही घरमा भोट माग्न पुग्न बाँकी थियो । त्यसकारण चाँडै ५०/६० घरमा घरदैलो कार्यक्रम सिध्याएर ३ बजे सिफल चौरमा अन्तिम चुनावी सभा गर्ने कार्यक्रम थियो । भंगाल पुग्नुअघि एकजना मतदाताको घरमा फूलमाला लगाएर उनी भंगालतर्फ अघि बढे । त्यहाँ अलिकति माथि पुगिसकेर प्रदेशसभाका उम्मेदवार साधुराम खड्कासँग केही कार्यकर्ता सेल्फी खिच्न थाले । गगन दाइ भने अघि बढे । प्रत्येक दिन उनको घरदैलोको फोटो खिच्ने मेरो जिम्मेवारी भएका कारण म अधिकांश समय उनकै वरपर हुन्थें । त्यसकारण म तस्बिरहरू क्यामेरामा कैद गर्दै अघि बढ्दै थिएँ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अलि पर पुगेपछि अचानक ठूलो आवाज आयो । घरका सिसाहरू गल्र्याम्म खसे । पछाडि हेर्दा धूवाँ र मुस्लो देखियो । सबै चिच्याएको आवाज मात्र सुनियो । एकअर्कालाई कसैले देखेन । रुवाबासी र चिच्याएको मात्र सुनियो । कोही कसैलाई सम्हाल्ने अवस्थामा थिएनौं । सबै धूलो र मुस्लो उडेपछि एकअर्काका मुखमा हेर्न थाले । तर, केही बोल्ने आँट कसैमा थिएन । गगन दाइ भने छेउमा उभिएका थिए ।
गगनका ढाडमा ढुंगा लागेकाले उनी केहीबर चल्न सकेनन् । कार्यकर्ता भागाभाग गरेको केहीबेरपछि देखियो । एकछिनपछि हेर्दा त राजकाजी श्रेष्ठ भुइँमा लडेको देखें । उनी रगताम्मे अवस्थामा थिए । एकजना साथीले निधार र खुट्टा समातेका थिए । यी सबै दृश्य देखेर गगन थापा अगाडि उभिएर रोइराख्नुभएको थियो । श्याम श्रेष्ठको पाखुरामा ढुंगा छिरेको थियो । उनलाई तत्कालै अस्पताल लगियो ।
रेणु बरुवाल बहिनी टाउको र खुट्टामा चोट लागेर ढलेकी थिइन् । उनी स्कुटरमा आएकी थिइन् । बमले स्कुटर र उनलाई उछिट्याएको रहेछ । बासिक नयाँ टोल सुधार समितिका अध्यक्ष पूर्ण श्रेष्ठको हातमा चोट लागेको थियो । अन्य घाइतेलाई पनि तत्कालै शिक्षण अस्पताल दौडाइयो । त्यो बेलासम्म म गगन दाइसँगै थिएँ । त्यसपछि गगन दाइलाई पनि उनकै गाडीमा अस्पताल लगियो । उनको ढाड र बायाँ कानमा चोट लागेको छ ।
(कुराकानीमा आधारित)
जिल्लाहरूमा पनि विस्फोट
कपिलवस्तु (कास)– कांग्रेसका क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्यलाई लक्षित गरी आइतबार राति २ स्थानमा बम प्रहार भएको छ । बुद्धभूमि नगरपालिका–९ बरकलपुर नजिक र ३ नम्बर वडाको रनगाईस्थित पुलमा पेट्रोल बम प्रहार गरिएको हो ।
आचार्यलाई लक्षित गरी राति १० बजे प्रहार गरिएको बम कांग्रेस नेता चन्द्रभान थारू चढेको लु१च ७१७५ नम्बरको बलेरो जिपको पछाडि लागेको थियो । जिपका सिसामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
आचार्य प्रचार सकेर राति ११ बजेतिर घर फर्कंदा रनगाई पुलमा पनि विस्फोट गराइएको थियो । विस्फोटले क्षति भएन । निर्वाचनको ४ दिनअघि आफूलाई लक्षित गरी विस्फोट गरिएको भन्दै उनले खेद व्यक्त गरेका छन् । ‘प्रचारमा हतोत्साहित गर्न खोजेको देखियो,’ उनले भने ।
बर्दिया क्षेत्र १ अन्तर्गतको बाँसगढी नगरपालिका–५ मा नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार केशव पौडेललाई लक्षित गरी विस्फोट गरिएको छ ।
सोमबार साढे ६ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । पौडेलको घरसँग जोडिएको नालामा बम विस्फोट भएको हो । नालाको पक्की ढलमा क्षति पुगेको एसपी जनक भट्टराईले बताए । पौडेलले आफूलाई लक्षित गरी बम विस्फोट गराइएको जनाए । ‘घरभित्र छिर्दै गर्दा बम विस्फोट भयो,’ उनले भने, ‘दुई सेकेन्डले मात्र ढिलो भएको भए ज्यानै जान सक्थ्यो ।’
सर्लाहीमा पनि बम हानियो
सर्लाहीमा प्रचारमा कुदेको उम्मेदवारको जिपलाई लक्षित गरी सोमबार बम प्रहार भएको छ । क्षेत्र ३ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार नरेन्द्र साहको प्रचारमा प्रयोग भएको जिप गुडेको बाटोमा बम विस्फोट गराइएको हो । हजारियाबाट क्षेत्रीय सडक हुँदै कर्मैयातर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गभन्दा तीन किलोमिटर दक्षिण खोल्साजस्तो ठाउँमा विस्फोट भएको प्रहरीले जनायो । विस्फोट जिपभन्दा केही टाढा भएकाले खासै क्षति भएन । बम विस्फोटका बेला ना२च २०१९ नम्बरको जिपमा चालक मात्र थिए ।













प्रतिक्रिया