१ कार्तिक २०८३, आइतबार

चुनावको मुखमा भेटिन थाले नक्कली नोट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १८ मंसिर । पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामिण भेगहरुमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोटको प्रयोग हुनसक्ने आशंका गरिएको छ ।

यस अघि बाग्लुङ, म्याग्दीमा केही दिन अगाडि नक्कली नोट भेटिएकामा अहिले पर्वतमा पसल र बित्तीय संस्थामा ल्याइएको रकममा नक्कली नोट भेटिन थालेका हुन् । कुस्मामा नक्कली नोट भेटिने क्रममा गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो भने ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा नक्कली नोट भेटिएको थियो ।

गण्डकी विकास बैंकमा केही दिन पहिले गुरुङ थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो भने ग्रीन बैँकका सुदिप राजण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेको बताए । नक्कली नोटमा कलमले लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने उनले बताए ।

यस अगाडि म्याग्दी र बाग्लुङमा जस्तै पर्वत पातीचौरमा नक्कली नोट भेटिएको थियो । चुनावको मुखमा यसरी नक्कली नोट भेटिनुले मतदातालाई प्रभावित पार्नका लागि नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । मतदान अगाडि जनतालाई आफ्नो पक्षमा पार्नका लागि मतदातालाई पैसा दिने गरेका आशंका सर्वत्र गरिरहेका बेला नक्कली नोट भेटिन थालेपछि त्यही प्रयोजनका लागि यस्ता नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ ।

बाग्लुङमा वित्तीय क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले यस्तो समयमा नचिनेका मानिसहरुले दिएको रकम पहिचान नगरी नबुझ्न आग्रह गरेका छन् । नक्कली नोट फेला परेमा ग्राहकलाई मुलुकी ऐन अनुसार जाली नोटमा जेल सजाय समेत हुन्छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले जाली नोट कारोवारमा राष्ट्रबैंकले पनि कारवाही गर्छ भने मुलुकी ऐन अनुसार जेल सजाय समेत हुन्छ ।

धौलागिरिका विभिन्न ठाउँमा नक्कली नोट भेटिएपछि सर्वसाधारणहरु त्रसित बनेका छन् । चलन चल्तीकै जस्ता देखिने नोट सामान्य मानिसहरुले पहिचान गर्न नसक्ने भएकाले पनि त्यस्ता ठाउँमा नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बजारमा भेटिएका नक्कली नोटको बीचमा रहेको स्टीकरमा एनआरबी नलेखिएको र हिमालको नजिकै रहेको गोलाकारभित्र अंकित तस्विर नभएको जनाइएको छ ।

यस्ता नोटहरु बजारमा आउनुले नेपालको अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भएकाले यस्तो गतिविधिमा संलग्नहरुलाई कारवाहीको प्रक्रियामा ल्याउनुपर्ने उनीहरुले माग गरेका छन् । निर्वाचनका बेला खर्च हुने ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरुबाट कारोवार नगरी सिधै हुने भएकाले यस्ता नोटहरुको चलखेल हुन सक्ने भन्दै नक्कली नोटका कारोवारीहरु यही बेला सल्बलाउन सक्ने भएकाले छानविन प्रक्रिया अगाडि बढाउनुपर्ने सरोवारवालाले माग गरेका छन् ।