
काठमाडौँ, १७ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई जिताउन लमजुङका बुद्धिजीविहरु एकजुट भएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेललाई जिताउन काठमाडौँ क्षेत्र नम्बर ५ मा बसोबास गरिरहेका लमजुङे पेशाकर्मी तथा बुद्धिजीविहरु एक भएका हुन् । काठमाडौँको बसुन्धरामा शनिबार आयोजित कार्यक्रममा बिभिन्न पेशा, व्यावसायमा संलग्न बुद्धिजीवि, संचारकर्मी र कलाकारको समेत सहभागिता थियो ।

बाम गठबन्धनलाई ऐक्यबद्धता जनाउन भेला भएका लमजुङेहरुलाई धन्यवाद दिँदै एमाले महासचिव पोखरेलले वाम गठबन्धनले भारी बहुमत ल्याउने विश्वास व्यक्त गरे । देशको विकास र समृद्धिका लागि बाम गठबन्धनलाई अत्याधिक बहुमत चाहिएको भन्दै पोखरेलले प्रतिनिधिसभामा पहिलो चरणमा ३२ सिट र दोस्रो चरणमा १ सय ५ सिटसम्म जित्ने उद्घोष गरे ।
कार्यक्रममा नेकपा एमाले लमजुङ काठमाडौँ सम्पर्क मञ्चका संस्थापक अध्यक्ष एवं निवर्तमान सांसद डा. भिष्म अधिकारीले एमालेका प्रभावशाली नेता भएकाले देशका लागि ईश्वर पोखरेलको जित आवश्यकता रहेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उच्च छवि भएकाले पोखरेललाई जिताउन सबै लाग्नुपर्ने उनले बताए ।

यसैगरी, एमाले लमजुङका अध्यक्ष एवं प्रदेशसभाका उम्मेदवार धनञ्जय दवाडीले पोखरेललाई जिताउने लमजुङबासीहरुको अभियानले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताए ।
योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेश देवकोटाले वाम गठबन्धनले बहुमत ल्याएमा मात्र यो देशको कायापलट हुने बताए ।
यसैगरी, काठमाडौँ क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीकी सहसंयोजक एवं पूर्वसांसद रत्ना गुरुङले काठमाडौँमा रहेका लमजुङेहरुले चलाएको अभियानले आफूहरु उत्साहित भएको बताइन् । लमजुङेहरुको भेलामा प्राध्यापक विजयराज जोशी, डा. कृष्ण गिरी, वरिष्ठ इन्जिनियर कृष्ण राना, चर्चित गायक राजु परियार, बिभिन्न बैंकका सिइओ, माओवादी केन्द्रका बिभिन्न भूमिकामा रहेका नेता तथा कार्यकर्ताहरु तथा बिभिन्न पेशा व्यावसायमा संलग्नहरुको सहभागिता थियो ।
एमाले महासचिव पोखरेलको पक्षमा माहौल बनाउन नेकपा एमाले लमजुङका अध्यक्ष एवं लमजुङ प्रदेशसभा (क)का उम्मेदवार धनञ्जय दवाडी, निर्वतमान सांसद जमीन्द्रमान घले, समानुपातिक सांसदकी उम्मेदवार यशोदा रिमाल काठमाडौँमा सक्रिय छन् । यसैगरी, पूर्वसांसद डा. भिष्म अधिकारी, केन्द्रीय विभागका सदस्य लिलाधर सापकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं एमाले प्रदेश नम्बर ४ का प्रचार विभाग सचिव गणेश पाण्डे, उपभोक्ता हित मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाँ, लमजुङ–काठमाडौँ सम्पर्क मञ्च अध्यक्ष नन्दराज गुरुङ, उपाध्यक्ष दीपक बराल लगायतले घरदैलो गरिरहेका छन् ।















प्रतिक्रिया