काठमाडौं, १६ मंसिर । नेकपा (एमाले)का प्रभावशाली नेता एवम् उपाध्यक्ष बामदेव गौतमले प्रदेश र प्रतिनिधी सभाको निर्वाचनपछि बन्ने कम्युनिष्टहरूको सरकारको प्रधानमन्त्री आफू बन्ने दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले दुई ठूला कम्युनिष्ट पार्टीहरूले बनाउने गठबन्धनको सरकारको प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन् । उनले आफूलाई प्रधानमन्त्रीमा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि साथ दिने बताए ।
‘म प्रधानमन्त्रीको दावेदार हुँ । अबको नयाँ प्रधानमन्त्रीको उम्मेदवार म हो’, उनले भने, ‘हाम्रो गठबन्धनमा मभन्दा उपयुक्त र मैले प्रधानमन्त्रीमा दाबी गर्दा कसैबाट विरोध हुँदैन । त्यो मेरो उपयुक्त हक पनि हो ।’
केपी ओली र पुष्पकलम दाहालले पार्टी चलाउनुपर्ने बताएका गौतमले भने, ‘निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइसक्छ ।’ उनले भने, ‘पार्टी एकीकरणका बेला पार्टी अध्यक्ष को बन्छ त्यो त्यति बेलाको कुरा हो । अहिले नै भन्न सकिँदैन ।’
बर्दिया क्षेत्र नं. १ मा आफ्नो जित भइसकेको दाबी गरेका गौतमले भने, ‘मैले जितिसके निर्वाचन र मतदानको औपचारिकता मात्रै गर्न बाँकी छ । कांग्रेसका सञ्जय गौतमले हार्छन् । बर्दियामा सबै काम मैले गरेको हो । सञ्जय गौतम खराब मन्छे हुन् ।’ गौतमले एमाले र माओवादीहरूको दुईतिहाई बहुमत आउने पनि दाबी गरे ।
प्यूठान जिल्ला छाडेर बर्दियामा किन उम्मेदवारी दिनुभयो भन्ने प्रश्नको जिज्ञासामा उपाध्यक्ष गौतमले भने, ‘पार्टीले प्यूठानमा खटाएको हो । प्यूठानमा एमालेको संगठन कमजोर थियो । त्यहाँको संगठन मैले बनाएको हुँ । बर्दियो मेरो कर्मथलो हो । प्यूठानको मिसन सकेर म मेरै जिल्ला आएँ ।’















प्रतिक्रिया