काठमाडौं, १४ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मंसिरमा हुने दोस्रो चरणको निर्वाचनमा काठमाडौंका सबैजसो सीट जित्ने बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले विहिबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एकाध ठाउँबाहेक काठमाडौंका सबै सीट जित्ने दाबी गरे । ‘एक दुईमा चिप्लिए अलग कुरा हो नत्र सबै सीट जित्छौं,’ उनले भने ।
काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका महासचिव पोखरेलले दोस्रो चरणको चुनावमा १२८ मध्ये १०० देखि १०५ सीट जित्ने बताए । पहिलो चरणको चुनावमा ३७ सीटमध्ये ३२ सीट जित्ने उनको भनाई छ ।
यस्तै, महासचिव पोखरेलले गुल्मीमा कांग्रेस उम्मेदवारको घरमा विस्फोटक पदार्थ भेटिएकोमा आपत्ति जनाए । त्यसको विषयमा आफ्नो धारण स्पष्ट पार्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई माग समेत गरे । निर्वाचन आयोगले एकतर्फी रुपमा एमालेलाई पेल्ने काम गरेको तर कांग्रेसले आचारसंहिता उल्लंघन गर्दा पनि मौन बसेको उनको आरोप छ ।
चुनावपछि पार्टी एकीकरण निश्चित रहेको भन्दै नेता पोखरेलले वाम गठबन्धनमा प्रधानमन्त्री को हुने विषयमा टुंगो लाग्न बाँकी रहेको बताए ।
















प्रतिक्रिया