२ कार्तिक २०८३, सोमबार

उदयपुर काँग्रेसलाई ठुलो धक्का, जिल्ला सचिव नै बाम गठबन्धनको पक्षमा उभिए

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कटारी (उदयपुर), मंसिर १३ । नेपाली काँग्रेस उदयपुरका सचिव रामकुमार राईले बुधबार एक औपचारिक समारोहमा काँग्रेस पार्टी परित्याग गरेका छन् । निर्वाचनलाई लक्षित गरी बाम गठबन्धनले जिल्लाको पश्चिमी क्षेत्र कटारी बजारमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उनले काँग्रेस पार्टी छोडी बाम गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

झण्डै तीन दशक लामो समय काँग्रेसमा व्यतित गरेका राईले सभालाई सम्बोधन गर्दै भने, ‘उर्वर समय मैले काँग्रेसमा व्यतित गरेर बेकार गरेछु ।’ पार्टीका केही नीति सिद्धान्त राम्रा भएपनि पार्टी परिचालन गर्ने व्यक्तिको आचरण खराव स्वभाव भएकाले आफु पार्टीभित्र बस्न नसकेको उनले बताए ।

‘बिनासकाले विपरित बुद्धी’ भन्ने नेपाली पुरानो उखानलाई कोट्याउँदै जिल्लाका ५ नेताप्रति उनले भने, ‘जिल्ला सभापति बिदुर बस्नेत, क्षेत्र नम्बर २ का उमेदवार नारायण बहादुर कार्की, रेडक्रसका सभापति तथा काँग्रेसका नेता सञ्जीव थापा, पुर्व पार्टी सभापति हेरम्ब बहादुर थापा र कटारी नगरपालिकाको मेयर पदमा पराजित उमेदवार ज्ञानेन्द्रमानसिंह राउतको सिन्डिकेटका कारण काँग्रेस पार्टी जिल्लामा सखाप भयो ।’

उनले थपे, ‘स्थानीय र संसदिय निर्वाचनमा जित्नेभन्दा पनि पराजित हुने उमेदवारलाई पैसाको चलखेल गरेर पार्टी आफ्नो पेवा र विर्ता सम्झेर टिकट वितरण गरेको र त्यसप्रति असहमति जनाउँदा आफुलाई पार्टी छोडन बाध्य बनाए । काँग्रेस अबपनि नसच्चिने हो भने, उदयपुरमा एकादेशमा काँग्रेस पार्टी पनि थियो भन्नेमा मात्र इतिहासमा नाम रहनेछ ।’

५ नेतासँगै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोशित मुद्रामा देखिएका राईले भने, ‘अब नेपाली काँग्रेस विपीको सिद्धान्तमा अडिग रहेर लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्ने पार्टी रहेन, यो त केवल दलाल र शासकहरुको मात्र पार्टी रह्यो । विपी, किसुनजी जस्ता निष्ठाको राजनीति गर्ने र हामी जस्ता जनताको काम इमान्दारसाथ गर्ने पार्टी रहेन, यो केवल भ्रष्ट, दलाल, शोषक, सामन्त र विपीको नाम भजाएर खाईरहने पार्टी बन्यो ।’

लगत्तै राईको त्यो कार्यको सम्मान गर्दै एमाले पोलिट व्यूरो सदस्य जगन्नाथ खतिवडाले प्रतिनिधि सभा २ मा अब काँग्रेस मुसाको दुलो भित्र सिमित रहेको घोषणा गरे । उनले भने, ‘काँग्रेसलाई अब टुकी बालेर खोज्नु पर्छ ।’ खतिवडाले वामएकता उदयपुरको सवालमा मात्र नभइ राष्ट्र र सगरमाथाको झुकेको शिर उचो राख्नको लागि बनेको बताए ।

कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकार संगितकार शम्भु राई, सत्यकला राई, कला राई, लिला राई, शिला राई, मिना राई, रुपकुमार राई, दिपक वान्तवा, नरेश राई, दिपेश राई, लोकगायक बद्री पंगेनी, हास्यकलाकार पार्वन राई, चर्चित नायक तथा निर्माता समानुपातिक उमेदवार नवल खड्का, नायिका तथा मोडल दिपासा विसी, नृत्यकार रेखा मगर, उदघोषक साहस राईको समेत प्रस्तुति रहेको थियो ।