१४ कार्तिक २०८३, शनिबार

आयोगले बाँड्यो सात लाख ६५ जनालाई अध्यापन अनुमतिपत्र

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १३ मंसिर । शिक्षक सेवा आयोगले हालसम्म सात लाख ६५ जनालाई अध्यापन अनुमतिपत्र वितरण गरिसकेको छ ।

विद्यालय तहमा अध्यापन गर्न स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरिएपछि आयोगले २०६१ सालबाट वितरण गर्न थालेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

आयोगका अनुसार प्राथमिक तहमा एक लाख ९८ हजार ८३०, निम्न माध्यमिक तहमा तीन लाख ६५ हजार २७५ र माध्यमिक तहमा एक लाख ३५ हजार ९६० जनाले लाइसेन्स प्राप्त गरिसकेका छन् ।

कक्षा ११ र १२ मा अध्यापन गर्नका लागि २२ हजार ९८६ जनालाई अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरिसकिएको छ ।

आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा माध्यमिक तहको उत्तीर्ण प्रतिशत ५०.६ र निम्न माध्यमिक तहमा ३१.४३ प्रतिशत छ ।

२०६८ सालबाट प्राथमिक तहमा लाइसेन्स वितरण गर्न रोकिएको छ । एक सय पूर्णाङ्कको लिखित परीक्षामा ५० अङ्क ल्याउनेले लाइसेन्स पाउने व्यवस्था छ ।

सबै विद्यालयमा अध्यापनका लागि लाइसेन्स अनिवार्य भए पनि निजी विद्यालयमा कार्यरत अधिकाँश शिक्षकहरूका साथमा लाइसेन्स छैन भने सरकारले कडाइ गर्न सकेको छैन ।

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रलाई व्यवस्थित गर्न शिक्षक सेवा आयोग नियमावली संशोधन गर्ने प्रक्रिया थालेको छ ।

यसैबीच, आयोगले मङ्गलबार आयोजना गरेको अन्तरक्रियामा शिक्षाविद्हरूले अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन शिक्षाशास्त्र विषयमा प्रथम श्रेणीमा उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ ।

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले विषयगतरूपमा लाइसेन्स वितरण गर्ने पद्धति आवश्यक रहेको बताउँदै हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्का शिक्षाविद् डा. मीनबहादुर विष्टले पहिलो श्रेणीमा उत्तीर्ण गर्नेले मात्र लाइसेन्सको परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था भइदिए विश्व विद्यालयहरूमा समेत पठनपाठनमा सुधार आउनसक्ने तर्क गर्नुभयो ।