१४ कार्तिक २०८३, शनिबार

ओलीको गृहजिल्ला झापामा यसरी हुँदै छ भिडन्त

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १३ मंसिर । एकसातापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापामा रोचक भिडन्त हुने देखिएको छ ।

झापा क्षेत्र नंं. ५ मा एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका खगेन्द्र अधिकारी, ३ नं. क्षेत्रमा कांग्रेसका नेता कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्गदेन, १ नं. क्षेत्रमा कांग्रेसका विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार (राम) कार्की, ४ नं. क्षेत्रमा एमालेका एलपी साँवा र देवकुमार थेवेलगायतका नेता चुनावी मैदानमा रहनुभएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी फोरम नेपाललगायतका अन्य दलले पनि उम्मेदवारी दिए पनि मुख्यरूपमा कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । अन्य जिल्लामा लोकतान्त्रिक गठबन्धन भए पनि झापा जिल्लामा सो गठबन्धन भत्किएको छ । राप्रपाले वाम गठबन्धनलाई नै सघाइरहेको छ ।

राप्रपाका महामहन्त्री राजेन्द्र लिङ्गदेनलाई जिताउनका लागि सो दलले मेची अञ्चलमै वाम गठबन्धनलाई सघाउने निर्णय गरेको छ । रापाप्रका महामन्त्री लिङ्गदेनलाई एमाले र माओवादी केन्द्रले सघाएको कारण सिटौला दबाबमा पर्नुभएको छ । वामगठबन्धनले राप्रपा नेपाललाई सघाएको विषयलाई आलोचना गर्दै उहाँले आफूलाई सो गठबन्धनले घेराबन्दी गरेको आरोप लगाउनुभयो ।

लिङ्गदेनलाई आफ्नो विरुद्धमा उठाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्नुभएको आरोप लगाउँदै सिटौलाले यसमा पुनः विचार गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माथिका नेताले गल्ती गर्दैमा तलका कार्यकर्ता तथा नेताले मान्नै पर्छ भन्ने हुँदैन, बाउले गल्ती गरेपछि छोराले सुधार्नुपर्छ । ’ जति गठबन्धन बनाए पनि यहाँका जनताले आफूलाई नै मत दिने विश्वास रहेको बताउँदै उहाँले लोकतन्त्रका लागि लडेका दल आज राजावादीलाई बोकेर हिँडेको देख्दा लोकतन्त्र नै खतरा परेको आफूले महसुस गरेको बताउनुभयो ।

विचार र सिद्धान्त जे भए पनि आफू पनि लोकतन्त्रका लागि लडेको दाबी नेता लिङ्गदेनले गर्नुभयो । राष्ट्र र राष्ट्रियताका लागि आफ्नो दलले पनि योगदान दिएको बताउँदै उहाँले जनताले जसलाई रुचाउँछन् त्यसले जित्ने धारणा राख्नुभयो । भद्रपुरको सभापछि गोरखापत्रसँग कुरा गर्दै उहाँले २५ वर्षदेखि नेपाली कांग्रेसले शासन गरेको छ तर यो झापालीका लागि के गरेको छ, केही भन्नसक्छ तर आफू कुनै पदमा नभए पनि थुप्रै विकासको कार्य गरेको दाबी गर्नुभयो ।

झापा ३ अन्तर्गत बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा नं. ८ पर्दछन् । यहाँ एक लाख १४ हजार ५८६ मतदाता रहेका छन् ।

गत स्थानीय तहको चुनावमा दलहरूले पाएको मतका आधार मान्ने हो भने पाँचवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको मत बढी देखिन्छ । पाँचवटा निर्वाचन क्षेत्र रहेका झापामा पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् ।

झापा १ बाट कांग्रेसका विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा पनि कार्कीले वामगठबन्धन स्थानीय तहमा प्राप्त गरेको मतको आधारमा आफू जित्ने दाबी गर्नुभयो । दुवैजना बौद्धिक नेताको रूपमा चिनिए पनि सो क्षेत्रमा कांग्रेसका नेताहरूले कार्कीलाई टुरिस्ट (पर्यटक) नेताको रूपमा प्रचार गरिरहेका छन् ।

नेता कार्कीले आफू बाहिर जिल्लाको भए पनि कर्मभूमि झापा नै रहेको बताउनुभयो । विवाह यही झापाबाट भएको हुनाले यो ठाउँसँग विशेष सम्बन्ध रहेको धारणा उहाँले राख्नुभयो ।