काठमाडौं, ११ मंसिर । अाइतबार राजनीतिक दलका कतिपय नेता/कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे।
उदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ । उनले मतसंकेत गरेको मतपत्रको फोटो फेसबुकमा हालेका छन् । तामाङ एक उदाहरणमात्र हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
आफ्नो व्यक्तिगत एकाउन्टबाट आफ्नो राजनीतिक आस्था झल्काउन मतसंकेत गरेको फोटो प्रचार गर्नुलाई समान्य पनि भन्न सकिन्छ तर कानुनी हिसाबले हेर्ने हो भने यो दण्डनीय हो ।
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतसंकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ । यसो गरेमा मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था उपदफा २ मा व्यवस्था छ ।
कानुनले समाजिक सञ्जालमा मतसंकेत सार्वजनिक गरे के हुने भन्ने विषयमा नबोले पनि मतसंकेत गरेको मतपत्र कसैलाई देखाउन वा सार्वजनिक गर्न नहुने स्पष्ट उल्लेख गरेको छ । ऐनमा मतसंकेत सार्वजनिक गरेको मतपत्र मतपेटिकामा नखसालेको भए मतगणना नहुने पनि उल्लेख छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा कसैले मतसंकेत गर्ने क्रममा बढी समय लगाएमा मतदान अधिकृतले निरीक्षण गर्न सक्ने व्यवस्था छ ।
दुबै ऐनको दफा ४३मा उल्लेख छ- ‘कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ ।’












प्रतिक्रिया