१४ कार्तिक २०८३, शनिबार

यी हुन् कर्णालीबाट मुख्यमन्त्री ताक्ने नेताहरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ९ मंसिर । सुर्खेतमा प्रदेश सरकारको पूर्वतयारी चलिरहँदा कर्णालीले मुख्यमन्त्री ताक्न थालेको छ । प्रदेश नम्बर ६ मा गठन हुने प्रदेश संसद् र मन्त्रालयका लागि सुर्खेतमा आवश्यक पूर्वाधारको तयारी चलिरहेको छ । यससँगै प्रदेश राजधानी सुर्खेतमा हुने देखिएपछि कर्णालीले भने पहिलो मुख्यमन्त्रीमा दाबी गर्न थालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पहिलो चरणअन्तर्गत आइतबार निर्वाचन हुने कर्णालीका मतदाताले मुख्यमन्त्रीको एजेन्डालाई प्राथमिकता दिएका छन् । मतदाताले मात्र होइन, कर्णालीका उम्मेदवारले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा उभ्याएका छन् । कर्णालीबाट तीन उम्मेदवार भावी मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् । पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई कांग्रेसले भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारिसकेको छ ।

कर्णालीबाटै महेन्द्रबहादुर शाही र नरेश भण्डारीले पनि आफूलाई भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रचार गरिरहेका छन् । कालिकोटका शाही बिनाविभागीयमन्त्री एवं माओवादी केन्द्रका नेता हुन् । माओवादी केन्द्रकै नेता भण्डारी पनि भावी मुख्यमन्त्रीको दौडमा होमिएका छन् । ‘कर्णालीले नै मुख्यमन्त्री पाउनुपर्छ’, उनले भने, ‘आजसम्म कर्णाली सधैं सिंहदरबारदेखि टाढा रह्यो, अब पनि कर्णालीलाई पीडित बनाइनु हुँदैन । समग्र प्रदेश ६ लाई समृद्ध बनाउने हो भने पहिलो मुख्यमन्त्री कर्णालीले पाउनुपर्दछ ।’

निर्वाचनको दिन नजिकिँदै जाँदा कर्णालीमा भावी मुख्यमन्त्रीको एजेन्डा पेचिलो बन्दै गएको छ । मतदाताले पनि हालसम्म कर्णाली उत्पीडित अवस्थामा रहेको भन्दै नयाँ संरचनामा विशेष अधिकार पाउनुपर्ने माग गरिरहेका छन् । उम्मेदवारले जित्नका लागि मात्र मुख्यमन्त्रीको कार्ड फाल्न नहुने यहाँका नागरिक अगुवाको भनाइ छ । कुनै पनि हालतमा यो प्रदेशको पहिलो मुख्यमन्त्री कर्णालीले पाउनुपर्ने उनीहरूको दाबी छ ।

‘हाम्रो माग त प्रदेश राजधानी नै हो तर पूर्वाधार र भौगोलिक अवस्थाले अहिले सम्भव देखिएन’, नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत भन्छन्, ‘कर्णालीलाई विकासको मूलधारमा ल्याउने हो भने अब अधिकार पनि दिइनुपर्छ । त्यसका लागि कर्णालीले यो प्रदेशको पहिलो मुख्यमन्त्री छुटाउनु हुँदैन, यसतर्फ कर्णालीवासी सचेत हुनै पर्छ ।’

आर्थिक, सामाजिक तथा राजनीतिक पहुँचमा पनि कर्णाली पछाडि परेको क्षेत्र हो । राजनीतिक पहुँच कमजोर हुँदा कर्णालीको विकास तथा समृद्धि हुन नसकेको यहाँका बासिन्दाको बुझाइ छ । डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालीमान बुढा भन्छन्, ‘कर्णालीकै लागि यो प्रदेश बनेको हो, यसको फाइदा कर्णालीले लिन सक्नुपर्छ । यति बेला ठूलो अवसर आएको छ, पहिलो मुख्यमन्त्री भित्र्याएर कर्णालीले काँचुली फेर्ने अवसर गुमाउनु हुँदैन ।’

स्रोतसाधनको पहुँचबाट टाढा रहेकै कारण कर्णाली पिछडिएको उनको ठम्याइ छ । प्रदेश राजधानी सम्भव नभए पनि प्रदेश सञ्चालन गर्ने मुख्यमन्त्री कुनै पनि हालतमा गुमाउन नहुने तर्क गर्छन् उनी । कालिकोटका मतदाताको मुख्य माग पनि प्रदेशको पहिलो मुख्यमन्त्री पाउनुपर्ने छ । यसका लागि उनीहरूले यहाँका राजनीतिक दल र उम्मेदवारलाई खबरदारी गरिहेका छन् ।

नागरिक समाज कालिकोटका संयोजक दमनराज बम भन्छन्, ‘कर्णालीले मुख्यमन्त्री पाउनेमा शंका छैन, हामीसँग क्षमतावान उम्मेदवारहरू छन् । अब कर्णालीका मतदाताले मुख्यमन्त्री बन्न सक्ने उम्मेदवारलाई जिताएर पठाउनुपर्छ, यसपटक पनि ध्यान दिएनौं भने कर्णालीको विकास केवल कथा मात्र हुनेछ ।’
प्रदेशसभाका लागि कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पाबाट प्रत्यक्षतर्फ १० सिट छन् । कर्णालीका सांसदहरू एकजुट भए प्रदेशसभाबाट बहुमत पुर्‍याएर पहिलो मुख्यमन्त्री भित्र्याउन सक्ने सम्भावना रहेको यहाँका नागरिक अगुवाको दाबी छ ।

राजनीतिक दलहरू पनि यस्तै कसरतमा लागेका छन् । जुनसुकै पार्टीबाट प्रदेश सदस्य निर्वाचित भए पनि कर्णालीको मुहार फेर्नका लागि संसद्मा एकजुट भएर मुख्यमन्त्री पाउने अवसर गुमाउन नहुने नागरिक अगुवाको भनाइ छ । यसका लागि यस क्षेत्रका उम्मेदवार र दलका नेताहरूलाई खबरदारी गरिरहेको उनीहरू बताउँछन् ।