२२ कार्तिक २०८३, आइतबार

अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्दै अर्यालले भने – ‘अनुशासित भएर काम गर्नुस्’

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरी महानिरीक्षक प्रकाश अर्याल प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्दै ।

काठमाडौँ, ७ मंसिर । नेपाल सरकार मन्त्रीपरिषद्को मंसिर ६ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिह्नबाट प्रदान गरेका छन् । दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ रहेका छन् ।

समारोहमा शुभकामना मन्तव्य तथा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले संगठनको उच्च तहमा पुगेको अवस्थामा अझै अब्बल कार्य गर्ने अपेक्षा संगठनको रहेको बताए । निर्वाचनको पूर्वसन्ध्यामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने चुनौतीको सहज व्यवस्थापन गरी पदोन्नतीको उपादेयतालाई पुष्टी गर्ने विश्वास व्यक्त गर्दै उनले यस कार्य सफलताका लागि मातहतलाई समेत निर्देशन दिई काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रमा देखा पर्ने विकृति, विसंगति हटाउन विशेष पहल गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले माथिल्लो दर्जाको उचाई कायम राख्न पूर्ण जिम्मेवारीका साथ व्यावसायिक र अनुशासित भएर सांगठनिक हित तथा जनसेवामा काम गर्न निर्देशन दिए । राष्ट्र र संगठनको निर्धारित उद्देश्य प्राप्तीमा दर्जाको गरिमा अनुसार कटिवद्ध भई काम गर्नुपर्ने उनले बताए ।

उक्त अवसरमा पदोन्नती भएका प्रहरी अधिकतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक हेमन्तबहादुर पालले बहुआयामिक उद्देश्य बोकेको प्रहरी संगठनमा आफ्नो विवेक र अनुभवको उचित प्रयोग गरी संगठनको गरिमा बढाउने कार्यमा कटिवद्ध रही कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।