काठमाडौं, ७ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकारलाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।
प्रहरीले हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरे पनि फरार अभियुक्तको सूचीमा राखिएका आठजनामध्ये कसैलाई पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रहरीले हतारमा घटनामा संलग्न पाँचजनालाई सार्वजनिक गरेपछि फरार सूचीमा राखिएका अभियुक्तहरु सजिलै विदेशमा भाग्न सफल भएका छन् । घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले अझै पनि ठेकेदार र व्यवसायीहरुलाई धम्क्याएर पैसा असुलिरहेको पीडित ठेकेदारहरु बताउँछन् ।
अर्कोतिर फरार सूचीमा राखेका व्यक्ति भन्दा थप दुई जनालाई केन्द्रिय अनुसन्धान व्यूरो(सीआईबी) ले पक्राउ ग¥यो । उनीहरुको साथबाट गौचन हत्यामा प्रयोग भएको हतियार बरामद् भएको प्रहरीले बताए पनि त्यो भने सत्य नभएको प्रहरीले नै बोलेको तथ्यबाट खुल्छ ।
किनकी गौचन हत्यामा नाइन एमएमको पेस्तोल प्रयोग भएको थियो । जुन कुरा प्रहरीको छानविन समितिले प्रारम्भिक रुपमा सार्वजनिक गरेको थियो । गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारमा पनि सोही पेस्तोल प्रयोग भएको थियो ।
तर, सिआईवीले पक्राउ गरेको पेस्तोल नाईन एमएमको नभएको प्रहरी स्रोत बताउँछ । पक्राउ परेका सबै जना भाडाका अपराधि हुन् । गौचन हत्याका योजनाकारहरु कोही पनि पक्राउ नपर्नुलाई रहस्यमय मानिएको छ ।
प्रहरीले पक्राउ गरेकामध्ये राजीव स्याङ्तानलाई सुटर भनेपनि उनले गोली हानेको पुष्टि नभएको छानविन समितिका एक प्रहरी अधिकारी बताउँछन् । स्रोतका अनुसार गौचनलाई नाईन एमएमको पेस्तोल प्रयोग गरी गोली हान्ने व्यक्ति अम्बरबहादुर राना मगर हुन् ।
फरार रहेका उनले नै दुई वटा पेस्तोलबाट गोली हानेको प्रहरी स्रोत बताउँछ । घटनाका मुख्य योजनाकार बस्नेतका आफन्त पर्ने रोशन बुढाथोकीले घटनाको चाँजोपाँजो मिलाएका थिए । उनी पनि फरार छन् ।
पत्रकार सम्मेलनमा प्रहरीले सबै फरार अभियुक्तहरुको नाम सार्वजनिक गरिदिएपछि मुख्य अभियुक्तहरुलाई भाग्न सफल भएका हुन् । घटनाका मुख्य योजनाकार बस्नेत प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’का मित हुन् भने अर्का योजनाकार मनोज पुन दुर्गा तिवारी हत्याका मुख्य अभियुक्त हुन् ।
केही ठेकेदारलाई प्रयोग गरी सूचना संकलन गरेर बस्नेतले नेपाल निर्माण व्यवसायी महासंघमा आवद्ध अधिकांश ठेकेदारलाई धम्क्याइरहेका छन् । बस्नेतलाई सूचना दिएको आरोप लागेका घैंटेका पार्टनर एवम् गजुरमुखी निर्माण सेवाका सञ्चालक सन्तोष गौतम प्रहरी अनुसन्धानमा तानिन लागेपछि राजनीतिक चलखेलमा लागेका छन् ।
प्रहरी अनुसन्धानमा तानिने भएपछि उनले प्रहरीलाई उल्टै सहयोग गरेको भन्दै ठेकेदाहरुलाई स्पष्टिकरण दिन थालेका छन् । विभिन्न सञ्चारमाध्यममा बस्नेत र गौतमको कनेक्सनका बारेमा समाचार आउन थालेपछि हेटौडाका कांग्रेस नेता एवम् ठेकेदार इन्द्र बानियामार्फत गौतम आफूलाई जोगाइदिनु प-यो प्रहरीका हाकिमहरुकहाँ पुग्न थालेका छन् । गौतमलाई डिआईजी छविलाल जोशी र एसएसपी दिनेश अमात्यले संरक्षण दिंदै आएको स्रोत बताउँछ ।












प्रतिक्रिया