काठमाडौं, ७ मंसिर । सरकारले नेपाल प्रहरीका चार डिआईजीलाई एआईजीमा बढुवा गरी पदस्थापन गरेपनि एसएसपीहरुको बढुवा भने रोकिएको छ ।
बढुवा सिफारिस समितिले डिआईजीमा बढुवाको गृहकार्य थाले लगत्तै धेरै एसएसपीहरु आर्थिक चलखेलमा लागेका कारण आईजीपी प्रकाश अर्यालले बढुवा नै रोकेको स्रोत बताउँछ ।
निर्वाचन आयोगले शुरुमा दुई एआईजीसहितका प्रहरी अधिकृतको बढुवाको लागि सहमती दिएको थियो । तर, रातारात आर्थिक चलखेल गरी सहमती जुटाएर चार डिआईजीलाई एआईजीमा बढुवा गरियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
एआईजी बढुवामा पनि हेमन्त पाल र पंकज श्रेष्ठले करोडौं बुझाएपछि सरकारले बाध्य भएर बढुवा गरेको थियो । तीन डिआईजी पदमा तीन जना एसएसपीलाई मात्र बढुवा गर्न आईजीपी अर्यालले अडान लिएपछि गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेको चर्चा छ । देउवा पत्नी आरजु राणाले बद्नाम दुई एसएसपीको बढुवामा लाखौं चलखेल गरेका कारण डिआईजीहरुको पनि संख्या नै बढाउन लागिएको छ ।
तर, निर्वाचन अगाडि एसएसपीहरुको बढुवा नहुने पक्का पक्की जस्तै भएको छ । एसएसपीहरु श्यामबहादुर खत्री, सुवास चौधरी, दिनेश अमात्य, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिपक थापा, दानसिंह बोहरा र सुशील भण्डारी डिआईजी बढुवाका आकांक्षी हुन् ।
एसएसपी अमात्य र चौधरीले आरजुमार्फत बढुवामा आर्थिक चलखेल गरेको थाहा पाएपछि आईजीपी अर्याल उनीहरुसँग रुष्ट बनेको हेडक्वार्टर स्रोत बताउँछ । अमात्यले मुनड्रप्स मेनपावरका सञ्चालक पुकार राणामार्फत आरजुलाई लाखौंको आश्वसन दिइरहेका छन् भने चौधरीले कांग्रेस नेता विजयकुमार गच्छदारमार्फत चलखेल गरिरहेका छन् ।
स्रोतका अनुसार अमात्यलाई बढुवा गराउन डिआईजी छवीलाल जोशीले पनि कांग्रेस नेता विमलेन्द्र निधीमार्फत चलखेल गरेका छन् । प्रहरीमा एसएसपीहरु रिजाल, अधिकारी, बस्नेत र थापा राम्रा अधिकृतमा गनिन्छन् । संघीय इकाई प्रहरी कार्यालय जनकपुरमा रहेका एसएसपी चौधरी गाँजा व्यापारीसँग पैसा खाएको काण्डमा मुछिएका छन् । गाँजा काण्डमा उनले खटाएका दुई सिपाहीलाई पक्राउ गरी दुई नम्बर गणमा राखिंदा समेत आईजीपी अर्यालले उनलाई कारबाही गर्न सकेको छैनन् । बढुवामा कार्य क्षमता र योग्यताको मापदण्ड भन्दा पनि पैसालाई नै प्राथमिकतामा राखिएपछि राम्रा एसएसपीहरु पछाडि पर्ने अवस्था देखिएको छ ।
तीस वर्षे हटाउने चलखेल
यसैबीच प्रहरी सेवामा ३० वर्षे अवधि हटाएर जागिर लम्ब्याउन केही एआईजी नै हात धोएर लागेका छन् । हालै मात्र बढुवा भएका एआईजी हेमन्त पाल यो खेलमा सबैभन्दा अगाडि देखिएका छन् ।
बुधबारको मन्त्रीपरिषद्को बैठकबाट ३० वर्षे अवधि हटाउने हल्ला बाहिर चलेको थियो । तर, अन्तिममा प्रधानमन्त्री देउवा नै पछि हटेपछि यो खेल अहिलेलाई भने रोकिएको छ ।
आफू डिआईजी छँदा केही एआईजीहरुले ३० वर्षे अवधि हटाउन खोज्दा प्रकाश अर्यालले ठूलो विरोध गरेका थिए । तर, अहिले अवधि हटाउने खेलमा उनले भित्रभित्रै एआईजीहरुलाई नै उचालेको आरोप लागेको छ ।












प्रतिक्रिया