विराटनगर, ६ मंसिर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार सुरक्षाका चारवटै संयन्त्रको प्रयोग गरी तोकिएको समयमै स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न कटिबद्ध रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा निकायलाई सक्रिय बनाई सुरक्षित, स्वच्छ, भयरहित, निश्पक्ष एवम् शान्तिपूर्ण वातावरण मंसिर १० र २१ गते हुने निर्वाचन सम्पन्न गर्ने बताए । नेपाली काँग्रेसका नेतासमेत रहेका गच्छदारले मुलकको केही क्षेत्रमा भएको निर्वाचन विरोधी गतिविधिका कारण निर्वाचनको मिति नसर्ने बताउँदै वर्तमान सरकार शान्तिसुरक्षा कायम राखी स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्न दृढ रहेको बताए ।
शान्ति सुरक्षालाई ध्यानमा राखी सरकारले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नु सामान्य हो भन्दै गच्छदारले अतिआवश्यक सेवामा रहेका कर्मचारीहरुलाई सरकारले चाहेको बखत सरुवा गर्न सक्ने बताए । आगामी २१ गते दोस्रो चरणको निर्वाचन हुनु अघि नै जिल्लामा काँग्रेस र मधेशवादी दलबीच सिटको तालमेल र सहकार्यको लागि सहमति हुने उनले विश्वास व्यक्त गरे । –रासस















प्रतिक्रिया