बागलुङ, ६ मंसिर । जिल्ला प्रहरी कार्यालयबाट चुनावको मुखैमा सरुवा भएर मन्त्रालय जान लागेका प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले समाजमा बढ्दै गएको दुव्र्यसन नियन्त्रणका लागि सहकारीसंग मिलेर गरेको सहकार्य सधै स्मरण आइरहने बताउनु भएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले युवा पुस्तामा बढ्दै गएको दुव्र्यसन नियन्त्रणका लागि आमाहरुको बढी प्रभावकारिता रहने भन्दै सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु नामक अभियान प्रभावकारी रहेको उहाँले बताउनुभयो ।
संस्थाले बुधवार आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
गत आर्थिक वर्षमा संस्थाले जिल्ला प्रहरी कार्यालयसंगको सहकार्यमा बागलुङ नगरपालिका र आसपासका विभिन्न ठाउँमा २४ वटा सचेतनामुलक कार्यक्रम गरेको स्मरण गर्दै एसपी खापुङले सहकारीहरुले पनि समाज रुपान्तरणका क्षेत्रमा यसरी काम गर्न सक्छन् भन्ने कुरा आफुले पहिलो पटक बुझ्न पाएको बताउनुभयो ।
सहकारी भन्दासाथ पैसा उठाउने र लगानी गर्ने भन्ने बूझ्ने समाजमा सहकारी आर्थिक विकाससंगै सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटो हो भन्ने कुरा आम जनता र नीति निर्माताहरुलाई बुझाउन सके देशमा धेरै छिटो परिवर्तन हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार मनकुमारी केसी जिसी र सल्लाहकार डिलबहादुर कार्कीले सहकारी मार्फत सञ्चालन गरिएको कार्यक्रम सफल पार्न गरेको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकारी क्षेत्रसंगको समन्वयलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, सञ्चालक थानेन्द्रप्रसाद गौतमको सञ्चालन र सञ्चालक शान्ति ज्ञवालीको स्वागतमा सम्पन्न भएको थियो ।
सूचना र सञ्चार क्षेत्रलाई पहिलो प्राथमिकता बनाउदै सहकारी मार्फत आर्थिक तथा सामाजिक रुपान्तरणमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थामा हाल १ हजार २ सय जना शेयर सदस्य, २ करोड ६० लाख शेयर रकम, ८ करोड बचत, ११ करोड लगानी रहेको छ । संस्थाले २०८० सालसम्मका लागि रणनीतिक योजना निर्माण गरी यो क्षेत्रको उत्कृष्ट सञ्चार गृहका रुपमा स्थापित गर्ने लक्ष्य लिएको संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिनुभयो ।












प्रतिक्रिया