
ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि बाम गठबन्धनकी उम्मेदवार एवम् नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुषालले अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत हाँसिल गर्ने दाबी गरेकी छिन् ।
उनले भनिन्, ‘हाम्रो लक्ष्य नै दुई तिहाई हो, देशमा ६५ प्रतिशत भोटहरु बामपन्थीहरु हुन्, त्यसैले हाम्रो गठबन्धनले दुई तिहाई आउँछ ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले ललितपुरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत ल्याउने र सरकार बनाउने दाबी गरेकी हुन् । उनले भनिन्, ‘हाम्रो बाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ र स्थिर सरकार बनाउँछ । अब बन्ने सरकारले पाँच वर्ष ढुक्कसँग शासन गर्छ, यसमा कुनै दुई मत छैन ।’
क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा आयोजित साक्षात्कारमा बोल्दै उनले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताप्रक्रिया अघि बढि सकेकोले अब कुनै हालतमा एकता प्रक्रिया नभाँडिने जिकिर गरिन् । उनले भनिन्, ‘एक सय एक प्रतिशत पार्टी एकता हुन्छ, प्रक्रिया अघि बढिरहेको छ ।’
नेपालमा जनताले कम्युनिष्टहरुलाई औधी माया गरेको भन्दै अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत पाउनेमा कुनै शंका नभएको तर्क गरिनन् । संविधान कार्यान्वयन गर्दै मुलुकमा आर्थिक समृद्धि कायम गर्ने आफूहरुको लक्ष्य भएको समेत उनले सुनाइन् । राजनीतिक स्थायित्व कायम गर्न र जनतालाई एकताको सुत्रमा बाँध्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आफूहरुको माग भएको समेत भुषालले सुनाईन् । ‘बलियो र पाँचवर्ष टिक्ने सरकार चाहिन्छ, राष्ट्रपति सिष्टम अहिले पनि सेरोमोनियल छ, अब देशैभरिका जनताले मत हालेर चुन्ने, हाम्रो मुलमर्म भनेको स्थिरता हो । हो, त्यसकै लागि हामीले यो प्रणालीको कुरा गरेका हौँ’, भुषालले थपिन् ।
संविधान कुनै जड बस्तु नभएको उल्लेख गर्दै समय र परिस्थितअनुसार जनताको हितमा संशोधन गर्न सकिने उनको भनाई थियो । उनले भनिन्, ‘त्यो पनि हामी गर्छौँ । आरामदायी बहुमत आयो भने जनता र राष्ट्रको पक्षमा कामगर्न सक्छौँ ।’ नेपालको संविधानले नै नेपालको समाज समाजवाद उन्मुख भएको भनेर परिकल्पना गरिसकेकोले अब मुलुकमा सामाजिक न्याय, आर्थिक समृद्धिका साथ आफूहरु अघि बढ्ने धारणा राखिन् । उनले भनिन्, ‘हाम्रा छिमेकीहरुले धेरै वर्ष लगाएर गरेको विकास हामी धेरै चाँडो गरेर विश्वलाई नै एउटा नमूना दिन चाहन्छौँ, त्यसको लागि स्थिर र दिगो सरकार चाहिन्छ, त्यो अबनिर्वाचनपछि बन्छ ।’
त्यस्तै उनले ललितपुरलाई स्मार्ट, विकसित, समृद्धशील शहर बनाउने आफूहरुको योजना रहेको समेत सुनाईन् । उनले आफ्नो चुनावी एजेण्डा पनि केन्द्रकै जस्तो भएको सुनाईन् । उनले भनिन्, ‘ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण छ, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छु । बाटोघाटो, धुलो, समस्या समाधान गर्छु । हरियाली बनाउने कुरा, नदि किनारहरुमा कोरिडोर खोल्ने कुरा जो छ, म गरेर देखाउँछु, हरियाली बनाउने कुरा, युवा जनशक्तिलाई पर्याप्त विकास हुन्छ ।’
उनले ललितपुरमा खेलकुदका राम्रा क्लबहरु भएकोले यसलाई ठूलो साधन सम्पन्न क्लब बनाउने र महिला, जेष्ठ र युवाहरु सबैको हितमाकामगर्ने विश्वास दिलाईन् । ललितपुरमा देखिएको ट्राफिक अस्तव्यस्ततालाई चुस्त दुरुस्त बनाउने र आवश्यक पर्नेगरि विकास गर्ने समेत धारणा उनले सार्वजनिक गरिन् । उनले भनिन्, ‘ट्राफिक प्रणालीलाई आधुनिक विकास गर्ने, फ्लाई ओभर, टनेल बनाउने, ठूला यातायातको साधान बढाउने मेरो योजना छ ।’
भुषालले आफूलाई ललितपुरवासीले विकासकर्मीको रुपमा समेत बुझ्ने गरेको उल्लेख गरिन् । उनले भन्छिन्, ‘ललितपुरलाई पर्यटन जोन र मुलुकै साँस्कृतिक राजधानी बनाउने मेरो लक्ष्य हो । त्यो संभव छ ।’












प्रतिक्रिया