काठमाडौं, ५ मंसिर । चुनावको तिव्र अभियानको बीचमा बामपन्थी गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेपछि केही ठाउँका चुनावी अभियान र सभा प्रभावित भएका छन् ।
उनले मंगलबार (आज)को चितवनमा हुने चुनावी सभामा सहभागीता जनाउनेछन् । तर, सम्बोधन नगर्ने बताइएको छ । चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
प्रचण्डका छोरा तथा सचिवालयका एकजना प्रमुख पात्र प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले ठहर गरेपछि उनी पुत्रशोकमा छन् । सभामा प्रकाशलाई श्रद्धाञ्जली दिइनेछ ।
प्रचण्ड झापाको चुनावी सभालाई छाडेर काठमाडौं फर्किएपनि उनले शोकको घडीमा पनि चुनाव प्रभावकारी बनाउने बोल्ड निर्णय गरे । सँगै काठमाडौं आउन लागेका गठबन्धनको अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘म सम्हालिन्छु, परिवार सम्हाल्छु तपाई सभाको कमाण्ड गर्नुस्’ भनी फर्किएका थिए ।
नेता भएका कारणले शोकमा डुबेर बस्नेभन्दा पनि देशको स्थिति मजबुद बनाउने दायित्व रहेको भन्दै उनले चुनावका कुनै पनि कार्यक्रम नरोक्नका लागि माथाहथको पार्टी र गठबन्धनको घटकलाई निर्देशन र सुझाव पनि दिए । आकस्मिक रूपमा भएको यो दुर्घटनाले प्रचण्डलाई पारिवारिक शोक र भावनात्मक चोट पुगेपनि उनले देशलाई यसले प्रभाव पार्न नहुने धारणामा उनी अडिग रहे ।
‘श्रद्धाञ्जली र समवेदना दिने पार्टीका कार्यकर्ता र नेतालाई उहाँले चुनावी अभियानमा तिव्रताका साथ लाग्नका लागि निर्देशन दिनु भएको छ । उहाँ व्यक्तिगत रूपमा भावुक भएपनि देशका लागि अघि बढ्न सवैलाई अनुरोध गरिरहनु भएको छ’, लाजिम्पाट पुगेका माओवादीका एकजना विद्यार्थी नेता मदन चुडालले भने,‘प्रचण्डले देशको निकासका लागि अघि बढ्न सवैलाई आग्रह गर्नुभएको छ ।’
सोमबार दिनभर नै समवेदना र श्रद्धाञ्जली दिन आएका सवैसँग भेट्दा प्रचण्डले यस्तो सुझाव दिएका हुन् । तर, उनले आफु सम्हालिए पनि परिवार सम्हाल्न केही कठिन भएको पनि बताएका थिए ।
तीन वर्षभित्र छोरी र छोरा गुमाएको पीडाले परिवार सम्हाल्न कठिन भएको उनले बताएका थिए । उनकी जेठी छोरी ज्ञानुको क्यान्सरका कारण ओम अस्पतालमा ज्यान गएको थियो ।
जनताले आफूबाट अभिभावकको भूमिका खोजेकाले एउटा नेता भएका नाताले व्यक्तिगत रूपमा चित्त बुझाउने ठाउँ भएपनि परिवारको चित्त बुझाउन कठिन भइरहेको उनले बताए । भने,‘पीडा ठूलै छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि विस्तारै नर्मलतिर स्थिति जाने क्रममा छ ।’
प्रचण्डको छोरा प्रकाश दाहालको हृदयाघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारलाई भेट्न र समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुग्नेहरूको सोमबार पनि घुइँचो छ ।
सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहाल परिवारलाई भेटेकी छन् । उनले स्वर्गीय प्रकाशको तस्वीरमा पुष्प गुच्छा चढाएकी थिइन् ।
अब कसलाई विश्वास गर्ने ?
प्रकाश छोरामात्र नभएर प्रचण्डको सचिवालयका एक सक्रिय कार्यकर्ता पनि रहेका थिए । प्रचण्डलाई प्राविधिक क्षेत्रबाट विश्वभर प्रत्यक्ष र परोक्ष रूपमा मिडियासँग जोड्नका लागि प्रकाशको भुमिका प्रभावकारी रहँदै आएको थियो ।
फेसबुकदेखि ट्वीटर र युट्युवमा समेत प्रचण्डका हरेक चुनावी सभा, सम्मेलन र भाषणहरूलाई निमेषभरमा विश्वभर पुराउनका लागि प्रकाशको भुमिका प्रभावकारी थियो । अर्कातिर सचिवालयमा रहेर प्रचण्डको नाममा राजनीतिक मुनाफा लिनेहरूभन्दा पनि विश्वासको खास पात्र प्रकाश थिए ।
आफ्नै कार्यकर्तादेखिको खतराबाट पनि प्रचण्डलाई मुक्त गराउनका लागि प्रकाशको भुमिका प्रभावकारी बनेको थियो ।
प्रचण्डको स्वकीय सचिवालयमा रहेका कतिपय व्यक्तिले धोका दिएका कारण राजनीतिक रूपमा सहजीकरण हुन नसकिरहेको समयमा प्रकाशलाई सचिवालयमा तानिएको थियो । सचिवालयमा प्रकाशको सहभागीतासँगै प्रचण्डका नाममा हुने अबाञ्छित काममा रोकटोक आएको थियो ।
सीता विक्षिप्त, लाजिम्पाट शुन्य
प्रचण्ड लाजिम्पाटमा श्रीमती सीता दहाललाई सम्हाल्नका लागि बसीरहेका छन् । छोरा प्रकाश दहालाको अल्पायुमै आइतबार निधन भएपछि विक्षिप्त बनेकी सीतालाई प्रचण्डबाहेकले सम्हाल्न सक्ने अवस्था छैन ।
प्रकाशलाई अन्तिम श्रद्धाञ्जली र अन्तिम संस्कारमा समेत उपस्थित हुन नसकेकी सीतालाई सम्हाल्नका लागि प्रचण्डलगायत परिवारका सवै सदस्य लागि परेका छन् । प्रकाशको कमीले सन्नाटा छाएको लाजिम्पाट निवासमा माओवादीका कार्यकर्ता, आफन्त र सुभेच्छु सोमबार पनि पुगेका छन् ।
छोरीहरू रेणु, गंगा, ज्वाईँ जीवनलगायतका माओवादीको चुनावी अभियानमा सक्रिय रहेका सवै शोकमा लाजिम्पाटमा रहेका छन् । चार वर्षमा दुई सन्तान गुमाएको पीडाले सीतालाई सम्हाल्न कठिन भएको लाजिम्पाट पुग्नेहरूले बताएका छन् ।
‘शोकको घडीमा यसैपनि शुन्य भएको निवास प्रकाशको कमीका कारण झनै शुन्य छ ।’, एकजना माओवादी कार्यकर्ताले भने,‘चुनावको उत्सुकताको बीचमा भएको यो बज्रपातले अध्यक्षलाई पनि कमजोर बनाएको पाएका छौं ।’
परिवारका सवै सदस्य अहिले शोकमा डुबेका छन् । लाजिम्पाटमा पार्टीका नेता कार्यकर्ता र आफन्त समवेदना दिनका लागि पुगिरहेका छन् ।
तर, सीता कसैसँग कुरा गर्ने अवस्थामा छैनन् । उनी आफ्ना मुटुको चोइटो एकमात्र पुत्र गुमाएको शोकमा अझै विक्षिप्त छिन् । ‘यो बज्रपातले उहाँ अहिलेसम्म विक्षिप्त हुनुहुन्छ । उहाँको रेखदेखसहित सम्हाल्नका लागि अध्यक्ष प्रचण्डसहित परिवारका सवै सदस्य लागि परेका छन् ।’, लाजिम्पाटबाट माओवादी कार्यकर्ताहरू भन्छन्,‘छोरो र सहारामात्र होइन पार्टीको एउटा वफादार कार्यकर्ता गुमाएको पीडा धेरैलाई परेको छ ।’
बीना यता, सृजना उता
प्रकाशका दुई श्रीमतिको अवस्था पनि विक्षिप्ततामा रहेको थियो । चुनावी अभियानका क्रममा सक्रिय रहेर कञ्चनपुरमा रहेकी विना प्रकाशको निधनको खबर पाउनासाथ नर्भिक अस्पतालमा रूँदै कराउँदै पुगेकी थिइन् । अहिले लाजिम्पाटमा शोकमा रहेका विना सानो छोराको हेरचाहमा लागेकी छिन् । चुनावी सभामा काम भएपनि उनी छोराको हेरचाहमा व्यस्त हुन परेको हो ।
बीनाको अनुपस्थितिमा प्रकाशले छोरालाई हेर्दै आइरहेका थिए । छोरालाई अधिक प्रेम गर्ने प्रकाशले सामाजिक सञ्जालमा पनि उनको तस्बिर पोष्ट गर्दै आइरहेका थिए ।
उता, उनकी जेठी श्रीमति सृजना त्रिपाठी नर्भिक अस्पतालमै बेहोस् भएकी थिइन् । जेठो छोरासहित माइती पोखराबाट काठमाडौं आएकी सृजनाको अवस्था पनि त्यति ठिक छैन । केही वर्षदेखि प्रकाशसँग छुटेर सृजना माइत बस्दै आएकी छन् ।












प्रतिक्रिया