
लमजुङ, ५ मंसिर । नाम धनञ्जय भएपनि धनञ्जय दवाडी धनधान्यले भरिपूर्ण होइनन् । उनले आफ्नो जन्मभूमि बिचौरबाट चुनावी अभियानका थालनी गर्दा भनेका थिए, ‘जन्मभूमिको माटो छोएर, मैले निर्वाचन अभियानको थालनी गरें । विचौरको माटोमा केही भावुक पनि बनेँ । ममा अझ देश र समाजको लागि केही गर्ने उर्जा मिलेको छ ।’
एमाले–माओवादी केन्द्रको बाम गठबन्धनबाट प्रदेश सभा (क) का उम्मेदवार एमाले अध्यक्ष धनञ्जय दवाडीले आफ्नो फेसबुक वालमा लेखे, ‘मैले अर्को अठोट पनि गरेको छु गाउँ, मेरो निर्वाचन क्षेत्र र समग्र जिल्लाको समृद्धि र विकासका लागि मैले अझै धेरै गर्नुछ । सबै मिलेर अग्रसर बनौं ।’
उनको जन्मभूमि जिल्लाको सुदूरपूर्वी क्षेत्रमा पर्छ । उक्त ठाउँ भूकम्पपछि अस्तब्यस्त छ । नागरिक टहरामै छन् । विकासले पिछडिएको उक्त ठाउँबाट एमाले अध्यक्ष समेत रहेका दवाडी चुनावी मैदानमा छन् । चुनावी प्रचारप्रसार उत्तरार्धमा पुग्दा धनञ्जय दवाडीको टोली राइनास नगरपालिकामा छ । ‘प्रायः सवै ठाउँमा पुगें । बुवाआमा, दाजुभाइ, दिदीबहिनी सवैले आशिर्वाद दिनुभएको छ । सम्पूर्ण पूर्वी लमजुङबासीले आशिर्वाद दिनुभएको छ । मेरो जित सुनिश्चित भएको महसुस गरेको छु’ हँसिलो मुहारमा राइनासको फेरिफेरी भेटिएका धनञ्जयले भने, ‘बामपन्थी सरकार बन्छ भन्ने हेक्का मतदातालाई लागिसकेको छ । त्यसैले हिजो कांग्रेसमा भोट हालेकाहरु पनि अहिले सूर्य र हँसियाहथौडामा भोट हाल्न तयार छन् ।’
उनीसँग लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस महाधिवेशन प्रतिनिधि गर्जबहादुर गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । दूधपोखरी गाउँपालिका २ (साविक बिचौर गाविस) का दवाडीको गाउँठाँटी हो । गुरुङको गाउँ भुम्लीचोक हो । यी दुई गाउँको दुरी आधा घण्टादेखि ४५ मिनेटको फरकमा पर्छ । उक्त निर्वाचन क्षेत्रमा २०६४ को संविधान सभामा तत्कालीन माओवादी र २०७० को संविधान सभा निर्वाचनमा एमाले उम्मेदवार बिजयी भएका थिए । त्यसअघि कांग्रेसले हैकम जमाउँदै आएको थियो ।
उमेरले गर्जबहादुर धनञ्जयका दाइ हुन् । विचौर ठाँटी क्षेत्रमा जन्मिएका धनञ्जय र भुम्लीचोकमा जन्मिएका गर्ज दुवै पढेको विद्यालय विचौरको वागिश्वरी मावि हो । धनञ्जय पढेर ठाँटीतिर झर्दै गर्दा गर्जबहादुर भुम्लीचोकको उकालो लाग्थे । धनञ्जयले अध्ययन र राजनीति रोजे भने गर्जबहादुर विदेशी भूमिमा लाहुरे बने । स्कुलमा धनञ्जयभन्दा गर्जबहादुर २ ब्याच सिनियर हुन् । दुवैको बाल्यकाल गाउँकै बागिश्वरी मावि, बूढीखोला, गैरेटे खोला, लाङ्दी खोलाछेउ वित्यो । धनञ्जय बाल्यकालदेखि नै राजनीति गरेर हिड्न थाले । गर्जबहादुर बेलायती लाहुरे बने । धनञ्जय काठमाडौं गएर पढ्न थाले । दुवैको जीवनको भंगालो छुट्यो ।
धनञ्जय निरन्तर राजनीति, शिक्षा, संस्कृति, लेखन, अध्ययन र समाज परिवर्तनलाई आफ्नो कार्यक्षेत्र बनाउन लागे । गर्जबहादुर राइफल बोकेर बेलायत सरकारको सेवामा तल्लीन भए । सेवानिवृत्तपछि उनी राजनीतिमा आएका हुन् । शेरबहादुर देउवाले पार्टी फुटाएपछि उनी कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति भएर जिल्ला आए । धनञ्जय र गर्जबहादुरको बीचबीचमा अक्कल झुक्कल देखभेट हुन थाल्यो । पार्टी एकतापछि गर्जबहादुर पुनः राजधानी फर्किए । उनको जन्म विचौरमा भएपनि बसोबास काठमाडौं र बेलायतमा भयो । उनी अहिले पनि बेलायतमा बस्ने हैसियत राख्छ । धनञ्जयको कर्म क्षेत्र विचौर, काठमाडौं र बेंसीसहर बन्यो । बेंसीसहरमा डेरा गरेर लमजुङको गाउँघर चहारेको २० बर्ष भयो । अहिलेसम्म पनि उनी भाडाको कोठामा परिवारसंगै बस्दै आएका छन् ।
यहाँको माटो र गुरुङ समुदायको सम्बन्धमा आफू अगाडि रहेको धनञ्जयको दावी छ । उनी जागिर, काठमाडौंको सेवासुविधा सवै त्यागेर राजनीतिमा लागेका ब्यक्ति हुन् । ‘म कार्यकताको आर्शिवाद बोकेर प्रचारमा निस्किएको छु । म यही ठाउँमा खेल्दै हुर्केको छु । मतदाताले पक्कै जिताउनेछन्’ उनले भने । गर्जबहादुर आफू जिल्लामा आउँदा सवै क्षेत्र र तहको ब्यक्तिसंग भेटघाटमा रहेको र निरन्तर सम्पर्कमा रहेको बताउँछन् ।
जनमत संङ्ग्रहपछि ०३८ मै विद्यालयको स्ववियु सदस्य बनेका धनञ्जय २ बर्षपछि विद्यार्थी फेडेरेसनको जिल्ला अध्यक्ष बने । काठमाडौंम पढाईसंगै पढाउन थालेका उनले मासिक ७ सय रुपैयाँको तलब पनि पुस्तक किनेरै सक्काए । पञ्चायती शासकले बिचौरबाट पक्राउ गरेर बेंसीसहरमा ल्याइ राजकाज अपराधको मुद्दामा साँढे १ महिना बिताए । ०४४ मा कम्युनिस्ट पार्टीका पुराना नेता विष्णुबहादुर मानन्धरले सदस्यता दिएसंगै उनी राजनीतिमा सक्रिय भए । ०५२ मा एमालेको मूल प्रवाहमा जोडिए । ०५४ को स्थानीय निकाय निर्वाचनमा ‘बाम गठबन्धन’ बाटै गाविस अध्यक्ष बने । नेपाली, संस्कृति र समाजशास्त्र गरी ३ बिषयमा उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे । अध्ययनको भोको मेटाउन उनले पुनः त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रबाट स्नात्तकोत्तर गरे । आर्थिक र पारिवारिक समस्याले पीएचडी गर्ने सपना भने अधुरै रह्यो । जिल्लामा राजनीतिसंगै बेंसीसहर र सुन्दरबजारका शैक्षिक संस्थानमा अध्यापनमा जुटे । सुन्दरबजारस्थित मातृभूमि क्याम्पसको प्रमुख भएर २ बर्ष काम गरे । एमालेको मुखपत्र नवयुगको माछापुच्छ्रे संस्करणको उपसम्पादक र लमजुङ हाइलाइटको सम्पादकको रुपमा रहेर उनले दशक बढी काम गरे ।
गर्जबहादुरले ०५४ देखि सक्रिय राजनीति गरेका हुन् । २ बर्ष कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिको सदस्य र त्यसपछि ४ बर्ष नेपाल भूपू सैनिक संघ काठमाडौंको अध्यक्ष भएर काम गरे । ०५८ देखि ६० सालसम्म कांग्रेस लमजुङको उपसभापति, त्यसयता २०६२ सम्म कार्यबहाक सभापति रहेका उनको ब्यक्तिगत विवरणबाट थाह हुन्छ । कांग्रेसको ११ औं र १२ औं महाधिवेशनबाट महाधिबेशन प्रतिनिधि बने । उनलाई कांग्रेस कार्यकर्ता नै ‘टुरिष्ट’ को उपाधी झुन्ड्याउँछन् ।















प्रतिक्रिया