काठमाडौं, ४ मंसिर । दोलखामा ०४८ सालदेखि नै वाम वर्चस्व रहँदै आएको छ । ०५१ को मध्यावधिमा एक सिटबाहेक कांग्रेसले कहिल्यै जित हासिल गर्न सकेको छैन ।
०५१ मा कांग्रेसका सादगी नेताको उपमा पाएका स्व. भीमबहादुर तामाङले जितेका थिए । ०४८ सालमा दुवै सिट एमालेले जितेको थियो । ०५१ को मध्यावधिमा कांग्रेस र एमालेले एक सिट जिते । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
०५६ मा दुवै सिट एमाले, ०६४ मा दुवै सिट माओवादी र ०७० मा दुवै सिट एमालेले जित्यो । गत स्थानीय तहको निर्वाचनमा दुई नगरपालिका र सात गाउँपालिकामा वामपन्थीहरूकै वर्चस्व रह्यो । एमालेले दुई नगरपालिकासहित पाँच गाउँपालिका र कांग्रेसले दुई गाउँपालिकामा विजयी हासिल गर्यो । एमाले र माओवादीबीचको गठबन्धनले यस पटक कांग्रेसलाई झनै चुनौती थपिएको छ ।
स्थानीय तहको चुनावमा एमाले र माओवादीले पाएको मत जोडदा कांग्रेस झन्डै २७ हजार मतले पछाडि छ । यद्यपि कांग्रेस उम्मेदवारहरू बुथकब्जा नभई मतदाताले स्वतन्त्रपूर्वक मत हाल्न पाए आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्छन् । ०७० को दोस्रो संविधानसभा चुनाव र हालैको स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रबीच द्वन्द्वपूर्ण स्थितिले कांग्रेसले आफ्नो स्थिति सृदृढ हुने ठानेको छ ।
नीय तहका चुनावमा दुई व्यक्तिको निधनलाई लिएर जिल्लामा एमाले र माओवादी केन्द्रबीच भित्रभित्रै असन्तुष्टि चुलिएकाले त्यसको लाभ आफूहरूलाई हुने कांग्रेसको प्रदेश ‘ख’ का उम्मेदवार केशवराज चौलागाईंले बताए । उनका अनुसार यस्तो असन्तुष्टिको मत २५ देखि ३० प्रतिशतसम्म कांग्रेसलाई आउने देखिन्छ ।
वाम गठबन्धनका उम्मेदवार विशालले विगतका द्वन्द्वबाट सिर्जित असन्तुष्टिको व्यवस्थापन भइसकेकाले कांग्रेसले त्यसको लाभ लिन नसक्ने दाबी गरे । ‘जहाँ संघर्ष हुन्छ, त्यहाँ एकता हुने कम्युनिस्ट दर्शन नै छ, अहिले हामी (एमाले र माओवादी) बीच भावनात्मक एकता भइसकेको छ,’ उनले भने, ‘कांग्रेसको यो खेती अब सकिएको छ ।’
जिल्लामा उम्मेदवारहरूले विकास एजेन्डालाई चुनावी मुद्दा बनाएका छैनन् । दोलखालाई ‘हाइड्रो हब’ पनि मानिन्छ । तर, नेताहरूले न त यसको विकासमा जोड दिएका छन्, न जिल्लाका सडक, खानेपानी, सिँचाइजस्ता मागलाई महत्त्वमा राखेका छन् । जिल्लामा भित्र बनेका अनगिन्ती सडक राजनीतिक नेतृत्वले भन्दा पनि कर्मचारीतन्त्रमा दोलखाले लिएको नेतृत्वका कारण सम्भव भएको स्थानीय बताउँछन् ।
वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका उम्मेदवार गुरुङ र कांग्रेसका खडका अहिले अन्तिम चुनावी प्रचारमा गाउँकेन्द्रित आमसभामा छन् । जिल्लाको विकासका एजेन्डालाई भन्दा पनि राजनीतिक आलोचना र दोषारोषण गरेर प्रचार थालेका उनीहरू यतिबेला एकअर्काको बुथकब्जा रोक्ने रणनीतिमा केन्द्रित हुन थालेका छन् ।
एमाले उम्मेदवार गुरुङले वाम गठबन्धनका कारण आफूहरूको जित सुनिश्चित भएकाले आफ्नो पक्षबाट बुथकब्जा नहुने भन्दै कांग्रेसलाई ढुक्क रहन आग्रह गरे ।
कांग्रेसका खडका भने सरकारले अझै सुरक्षा व्यवस्था कडा पारेर दोलखामा निरन्तर चल्दै आएको बुथकब्जा रोक्नुपर्ने बताउँछन । रोचक त के छ भने गुरुङ र खडका व्यावसायिक साझेदारसमेत हुन् । त्यहीकारण व्यक्तिगत गालीगलौजमा उत्रिएका छैनन् । तर, दलीय आरोप/प्रत्यारोप चर्को छ ।
‘जनताको मताधिकार खोसिनु लोकतन्त्रका लागि राम्रो होइन । स्वच्छ र भयरहित निर्वाचन भए ठूलो मतान्तरमा जित्छौं, हामीलाई कुनै पनि धाँधली प्रपञ्च रच्न जरुरी छैन,’ गुरुङले भने ।
खडकाले वाम गठबन्धनबाट कांग्रेस समर्थक मतदातालाई बढी असुरक्षा भएको बताए । उनले बुथकब्जा रोक्न सके आफ्नो विजय सुनिश्चित रहेको दाबी गरे । ‘मतदाताले निर्भय र स्वतन्त्रपूर्वक मत हाल्न पाए कांग्रेसले यस पटक वाम वर्चस्व तोड्छ,’ उनले भने ।
दोलखामा केन्द्र र प्रदेशमा कांग्रेसले नयाँ अनुहार उतारेको छ भने वाम गठबन्धनबाट उम्मेदवार भएका सबै परीक्षण भइसकेका नेता हुन् । वाम गठबन्धनबाट उम्मेदवार रहेका गुरुङ यसअघि निर्वाचित सांसद हुन् ।
प्रदेशसभाका उम्मेदवार पशुपति चौलागाईं र खडकासमेत परीक्षण भइसकेका नेता हुन् । प्रदेश ‘ख’ मा वाम गठबन्धनका पशुपति र कांग्रेसका केशवराज दुवै चौलागाईं भएकाले उनीहरूबीचको भिडन्तलाई पनि रोचक मानिएको छ ।












प्रतिक्रिया