बिर्तामोड, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउने झापा क्षेत्र नं. २ का उम्मेदवारहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको उम्मेदवारहरुसँगको छलफलमा उनीहरुले निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न आफ्नोतर्फबाट छ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । झापा २का उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनलाई भयरहीत र द्वन्द्वरहीत बनाउने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै निर्वाचन प्रचारलाई तडकभडकरहीत, कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने समेत उनीहरुको प्रतिबद्धता छ । उम्मेदवारहरुले एकअर्काको सहअस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गरी असल राजनीतिक संस्कारको विकास गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
साझा प्रतिबद्धतामा झापा २मा प्रतिनिधिसभा सदस्य पदका लागि लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उद्धव थापा, बाम गठबन्धन अन्तर्गत नेकपा एमालेबाट उम्मेदवार पवित्रा निरौला खरेल, नयाँशक्ति पार्टीका उम्मेदवार भक्तबहादुर बुढाथोकी, राष्ट्रिय जनता पार्टीका उम्मेदवार महावीर राई, देशभक्त जन गणतान्त्रिक मोर्चाका उम्मेदवार होमचन्द्र घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार पर्शुराम मगर र संघीय लोकतान्त्रिक मञ्चका उम्मेदवार मानबहादुर साँवाले हस्ताक्षर गरेका छन् ।
त्यस्तै क्षेत्र नं. २ प्रदेशसभा १बाट बाम गठबन्धन अन्तर्गत एमालेबाट उम्मेदवार बनेका एकराज कार्की, प्रदेश सभा २तर्फ नेपाली कांग्रेसबाट उम्मेदवार खड्गप्रसाद प्रसाईं, एमालेबाट उम्मेदवार बृखबहादुर प्रधान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवार बनेका नगेन्द्र राईले समेत साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
उनीहरुले सबै राजनीतिक दल र उम्मेदवारहरुबीच सम्बन्ध सुधार गरेर निर्वाचनलाई सौहार्द र शान्तिपूर्ण बनाउन संवाद समूह झापाले निर्वाह गरिरहेको भूमिका महत्वपूर्ण रहेको भनी प्रशंसा समेत गरेका छन् । संवाद समूहको संयोजनमा सबै पार्टीका उम्मेदवारलाई एकै ठाउँमा उपस्थित गराएर उच्च राजनीतिक संस्कारको प्रदर्शन गरिएको पनि उनीहरुको भनाइ थियो । छलफलको सहजीकरण सहजकर्ता अधिवक्ता खगेन्द्र खरेल र पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।













प्रतिक्रिया