काठमाडौँ, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको निधन भएपछि उनको परिवारमा बज्रपात आइपरेको छ ।
युद्दकालमा होस् या त्यसपछि बाबु प्रचण्डको सचिवालय र सम्पूर्ण चाँजोपाँजोको जिम्मा सम्हाल्दै आएका प्रकाशको निधनपछि प्रचण्डले दाहिने हात गुमाएका त छन् नै, अब उनको सक्रियता, पारिवारिक व्यवस्थापन लगायतका विषयलाई लिएर पनि चिन्ता गर्न थालिएको छ ।
प्रचण्डले आफूलाई कसरी सम्हाल्लान् भनेर चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । माओवादीको कार्यकर्ता पंक्तिमात्र नभई सिंगो नेपाली समाज स्तब्ध देखिएको छ ।
झापाबाट आउँदै गर्दा प्रचण्डले पीडा लुकाउने प्रयास गरेको देखिए पनि उनको परिवार निकै ठूलो शोकमा डुबेको छ ।
दुःखद घडीमा प्रचण्डलाई अब प्रकाश दाहालका दुई नाबालक छोराहरूले साथ दिनेछन् भनेर सबैले सहानुभुति दिन थालेका छन् ।
प्रकाशले तीन वटा विवाह गरेका थिए । अहिले उनी बिना मगरसँग एक छोराका साथ बस्दै आएका थिए ।
जनयुद्धकालमा प्रकाशले माओवादीका नेता पोष्टवहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग जनवादी विवाह गरेका थिए । नौ वर्ष अगाडि समझदारीमै प्रभासँग प्रकाशले सम्बन्ध विच्छेद गरेका थिए ।
प्रभासँगको सम्बन्ध विच्छेदपछि प्रकाशले पोखरा हेम्जाकी श्रृजना त्रिपाठीसँग मागी विवाह गरे । श्रृजनाबाट एक छोरा प्रसिद्ध दाहाल छन् । अहिले उनी ठूलो भइसकेका छन् ।
श्रृजनासँग दाम्पत्य जीवनको चार वर्षमै प्रकाशले बिना मगरसँग सगरमाथा आरोहणका क्रममा हिमचिम बढेपछि तेस्रो विवाह गरेका हुन् । बिनाको तर्फबाट पनि छोरा जन्मिसकेका छन् । छोरा प्रणब पनि ठूला भइसकेका छन् ।
प्रकाशकी पत्नी सिर्जनाले डिभोर्स दिएकी छैनन् । माइती पोखरामा छोरा हुर्काएर बसेकी उनी पार्टीमा पनि सक्रिय छिन् ।
बिना मगर अहिले प्रतिनिधि सभाका लागि कञ्चनपुर जिल्लाबाट प्रतिस्पर्धामा छिन् ।
















प्रतिक्रिया