१२ मंसिर २०८३, शनिबार

तेह्रथुममा कांग्रेस उम्मेदवार सीता गुरुङको आक्रामक प्रचार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, २ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको चटारो लागेको छ, उम्मेद्वारहरूलाई । पहाडी जिल्लामा निर्वाचन क्षेत्र घटेकोले धेरै जिल्ला प्रतिनिधिमा एक सीटमा सीमित भएका छन् । यसरी एकै उम्मेदवार सिंगै जिल्ला चहार्नुपर्ने भएको छ ।

भौगोलिक विकटता भएका पहाडी जिल्लामा पर्ने तेह्रथुममा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्नुभएकी कांग्रेस नेतृ, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ यी सबै चुनौतिको सामना गर्दै चुनावी प्रचारमा दौडिएकी छिन् । उनले दैनिक तीनवटा चुनावी सभा संबोधन गर्दै निर्वाचनको माहोल कांग्रेसको पक्षमा ल्याएको तेह्रथुम कांग्रेसले जनाएको छ ।

प्रदेश सभा ‘क’का उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगाना सहित कांग्रेस नेताहरूको टोलीले विहीबार पनि दुई स्थानमा भएका चुनाव प्रचार प्रसार कार्यक्रममा सम्बोधन गर्न भ्याएको छ ।

लालीगुराँस नगरपालिकाको चित्रे र दिउँसो छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा छुट्टा–छुट्टै चुनावी कार्यक्रम सम्पन्न भएको हो । नेताहरूले कांग्रेसकै नेतृत्व र त्यागले जारी भएको संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।

कांग्रेस युवा नेतृ गुरुङले छुट्टै भुगोलको रुपमा परिचित छथर क्षेत्रलाई सदरमुकाम हुँदै आठराईसँग सडक सन्जालमा जोड्नु आफ्नो अबको पहिलो प्राथमिकता भएको बताइन् ।

प्रदेश सभा ‘क’ क्षेत्रका उम्मेदवार जिल्ला सभापति ढुंगानाले संघीय लोकतान्त्रिक संविधान जारी भएपश्चात्को यो ऐतिहासिक निर्वाचनले कांग्रेस एक ढिक्का बनेको भन्दै कांग्रेसको नेतृत्वमा मात्रै संविधान कार्यान्वयन र प्रजातन्त्रको रक्षा गर्न सक्ने बताए ।

कार्यक्रममा जिल्ला सचिव सन्तोष सुब्बा, महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, प्रदेश सभा ‘ख’ निर्वाचन प्रचार प्रसार समितिका संयोजक अर्जुनबाबु माबोहाङ, जिल्ला सदस्य बालकुमार गुरुङ लगायत नेताहरूले मन्तव्य राखेका थिए ।

सो अवसरमा संघीय लिम्बुवान मन्च परित्याग गरी १२ जना कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसको प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रको मेन्छ्यायेम गाउँपालिका–२, पौठाकमा चुनाव प्रचार प्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेस उम्मेदवार तथा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे सहित कांग्रेस नेताहरू सहभागी कार्यक्रममा चुनावी रणनीति र एजेण्डाहरू छलफल भएको थियो ।