सल्यान, १ मंसिर । सल्यानमा क्रियाशील पत्रकारहरुले सुचना संप्रेषणका लागी सुचना डेस्क स्थापना गरिदिन आग्रह गरेका छन् । उनीहरुले आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन अवधिभर सूचना संप्रेषणका लागी सुचना डेस्क स्थापना गरिदिन आग्रह गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानको आयोजनामा शुक्रबार जिल्लाको सदरमुकाम खलंगामा आयोजित निर्वाचन र सञ्चार प्रशिक्षण कार्यक्रममा उनीहरुले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे र जिल्ला निर्वाचन अधिकारी महेश शर्मा समक्ष यस्तो आग्रह गरेका हुन् । उनीहरुले विगतको स्थानीय निर्वाचनमा पत्रकारहरुलाई समाचार संप्रेषणलगायतका कुराहरुमा समस्या भएको भन्दै समस्या समाधान गरी दिन आग्रह गरेका छन् । साथै उनीहरुले निर्वाचन आचारसंहिताभित्र रहेर सुचना तथा समाचार संप्रेषण गर्ने सामुहिक प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुले निष्पक्ष भएर निर्र्वाचनको समयमा रिपोर्टिङ गर्ने बताएका छन् ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सत्यतथ्य सूचना संप्रेषणको लागी सुचना डेस्क स्थापना गर्न पहल गर्ने बताए । उनले निर्वाचनको अवधिभर सबैको ध्यान निर्वाचनमा केन्द्रित हुने भन्दै हतार नगरी सत्य र तथ्य कुरालाई मात्र बाहिर ल्याउन आग्रह समेत गरे ।












प्रतिक्रिया