धनगढी, १ मंसिर । एमाले–माओवादी सम्मिलित बाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ५ अन्तरगत धनगढीका विभिन्न वडामा शुक्रबार चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र २ अन्तरगत शुक्रबार वडा नम्बर १ को बसन्त टोल तथा वडा नम्बर ३ को बीरेन्द्र टोलमा चुनावी सभा गरिएका छन् । सभामा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा २ का उम्मेदवार रमेश धामीलगायतले सम्बोधन गरेका थिए ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य उम्मेदवार रानाले आफू यसै क्षेत्रको बासिन्दा भएको र यहाँका हरेक सामाजिक काममा सक्रिय रहँदै आएकाले आफूलाई मत दिन मतदातालाई आग्रह गरे । स्थानीय समस्या बुझेका उम्मेदवारले जितेमात्र यहाँका समस्या सम्बोधन हुने उनको भनाई थियो ।
‘म यहीं जन्मे, यहीं हुर्के । यहाँका हरेक समस्याप्रति जानकार छु र हरेक सामाजिक काममा सक्रय भूमिका निर्वाह गर्दै आएको छु ।’ रानाले भने–‘मैले जितेपछि तपाईहरुले मलाई सहजै भेट्न सक्नुहुन्छ । आफ्ना समस्या राख्न सक्नु हुन्छ । मलाई भेट्न टाढा जानु पर्दैन ।’
यो क्षेत्रको विकासका लागि आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै उनले स्थानीय व्यक्तिले मात्र यहाँको विकास गर्नसक्ने बताए । झुटा आश्वासनमा विश्वास नगरेर धनगढीको विकास गर्नसक्ने उम्मेदवारलाई जिताउन आग्रह गर्दै उनले वाम गठबन्धनको जितले मात्र विकास हुने बताए ।
कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार रमेश धामीले आफूले चुनाव जितेमा धनगढीलाई प्रदेशको राजधानी बनाउनका लागि पहल गर्ने बताए । ‘धनगढी प्रदेश नम्बर सातको प्रमुख केन्द्र हो । हरेक हिसाबले यो प्रदेशको राजधानी बन्न योग्य छ ।’ धामीले भने–‘मैले चुनाव जितेपछि धनगढीलाई राजधानी बनाउन पहल गर्नु मेरो पहिलो काम हुनेछ ।’
प्रदेश सभा क्षेत्र २ मा विकासको दृष्ट्रिले निकै पछाडि परेका बस्तीहरु समेत रहेका उल्लेख गर्दै उनले सबै क्षेत्रको समानुपातिक विकासमा आफूले ध्यान दिने बताए । गौरीफण्टा नाकाको स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्र्ने उम्मेदवार धामीले बताए ।
‘कृषिको आधुनिकीकरणमा ध्यान दिने छौं । किसानलाई मल, बीउ, सिंचाई आदिमा सहुलियत दिने हाम्रो योजना छ ।’ धामीले भने–‘कृषिको विकासले मात्र देश विकास संभव हुन्छ । त्यसैले हामीले किसानका समस्या र कृषिको आधुनिकीकरण गर्ने हाम्रो योजना छ । वाम गठबन्धनले तारानगर, हसनपुर, उर्मा, फूलबारीलगायत क्षेत्रमा शुक्रबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो अभियानमा उम्मेदवारहरुसंगै एमाले नेता महेश्वर पाठकलगायत एमाले–माओवादीका नेताहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया