दाङ, १ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई समृद्धिको मार्गमा लग्न सक्ने बताए । संयुक्त बाम गठबन्धनले दाङको ढिकपुरको एकलघरुवामा बिहीबार आयोजना गरेको चुनावीसभामा उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने बताउँदै बाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गराउन मतदातालाई आग्रह गरे ।
एक वर्ष नटिक्ने सरकार कै कारण विकास निर्माणको काम अलपत्र पर्ने गरेको बताउँदै उनले भने, ‘बहुमतको स्थिर सरकार अहिलेको आवश्यकता छ ।’ उनले व्यक्ति र पार्टीको जितहारभन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको बताउँदै जनतालाई विचार गरेर मात्रै भोटको सुनिश्चित गर्न सुझाव पनि दिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडी भएको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले बाम गठबन्धनलाई अधिनायकवादको आरोप लगाउने काँग्रेसले अरूलाई गाली गरेर आफू राम्रो बन्ने सोच हटाउनुपर्नेमा जोड दिए । –रासस











प्रतिक्रिया